कपिलवस्तु,चन्द्रौटा । सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकको विरोध गर्दै कपिलवस्तुमा रहेका १० वटा स्थानीय तहका कर्मचारीहरुले आन्दोलन जारी राख्दै  पेन डाउन  गरेको शिवराज नगरपालिकाका प्रशासन शाखा प्रमुख तथा शिवराज नगरपालिका सघर्ष समितिका संयोजक डिल्लीराज भट्टराईले जानकारी दिए ।

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने भन्दै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको नेतृत्वमा बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको र स्थानिय तहमा आज देखि पेन डाउन गरिएको भट्टराईले बताए  ।

संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको उनीहरुको आरोप छ । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतीको परिभाषाभित्र स्थानीय कर्मचारीलाई पनि समेटिनुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका आफूहरुको माग राख्दै यसलाई प्रभावकारी बनाउन  शिवराज नगरपालिका स्थानिय सघर्ष समिति समेत गठन गरिएको छ ।

संघर्ष समितिले बिना सहमति ७५३ स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनु पर्ने, जुन सुकै तहमा बहाल रहेको कर्मचारीलाई तिनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनु पर्ने, स्थानीय सेवाका कर्मचारीहरूलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनु पर्ने लगायतमा माग समेत अघि सारेका भट्टराईले जानकारी दिए ।