इन्द्रजात्रामा प्रधानमन्त्रीको शुभकामना
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु राष्ट्रिय कार्यभार रहेको बताएका छन्।
इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उनले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न इन्द्रजात्राले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधता एवं सानो भूगोलभित्र प्राकृतिक विविधता र गहिरो भावनात्मक एकता भएको सुन्दर मुलुक रहेको बताएका छन्। प्रधानमन्त्री दाहालले सभ्यता, धर्मसंस्कृति, चाडपर्व एवं रहनसहनमा विविधताले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्दै आएको बताएका छन्।
‘देशको यही विविधतालाई आत्मसात् गर्दै नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र विविधतासहितको संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई आत्मसात् गरेको छ। यो हामी सबैका लागि गौरवको कुरा हो’, उनले भनेका छन्।




















