प्रधानमन्त्रीको चीन भ्रमण ‘तीर्थाटन’मा सीमित भयो : बाबुराम भट्टराई
काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालको चीनभ्रमण नेपालको दीर्घकालीन हितमा हुनुपर्नेमा तीर्थयात्रामा सीमित भएको टिप्पणी गरेका छन्।
बिहीबार बिहान ट्वीट गर्दै भट्टराईले मुलुक इतिहासमै कमजोर भएका वेला अतिथिसत्कारमा रमाएर बसेको भन्दै प्रधानमन्त्री दाहालको आलोचना गरेका छन्।
‘नेपाल यतिवेला आन्तरिक रूपमा तीव्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ’, उनले लेखेका छन्, ‘यस्तो वेला दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथिसत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने!’
उनले चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको वेला ऊसँगको निकट सम्बन्ध मार्फत मुख्य रूपमा तीव्र आर्थिक रूपान्तरणको महत्त्वपूर्ण अवसरको सदुपयोग गर्नुपर्ने बताएका छन्। ‘उसले अघि सारेको बीआर्आइ र जीडीआइलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रमको भ्रमण केन्द्रित हुनुपर्थ्यो’, उनले भनेका छन् ‘कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुई देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात/पारवहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो। तीर्थाटन त हुँदै गर्थ्यो।’
भट्टराईले नेपालको तीव्र गतिको आर्थिक रूपान्तरण(दुई अंकको आर्थिक वृद्धिदर,दुई दशक निरन्तर) को लक्ष्य दुइ ठूला छिमेकी अर्थतन्त्रको मूल्यशृंखलासँग तालमेल मिलाएर अघि नबढी सम्भव नहुने जिकिर गरेका छन्।




















