चन्द्रौटा, ५ असोज ।

कपिलवस्तुको शिवराज नगरपालिकामा सामुदायिक प्रजनन केन्द्र स्थापना गर्नका लागि उन्नत जातको बोका हस्तान्तरण गरिएको वडा कार्यालयले जनाएको छ । वडा नम्बर ३ मैनारमा रहेको चौधरी बाख्रा पालन फर्मलाई सो बोका हस्तान्तरण गरिएको हो । यस बोकाको प्रजननले स्थानीय लगायतका क्षेत्रमा उन्नत बाख्रा उत्पादनमा जोड दिएको जनाइएको छ ।

नश्ल सुधारका लागि चौधरी बाख्रा फर्मलाई एउटा उन्नत (बोयर) जातको बोका खरिद गरि चौधरी बाख्रा पालन समुहका अध्यक्ष परशुराम थारुलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताए । उक्त बोला प्रजननका लागि स्थानीयलाई उपलब्ध गराउने भनिए पनि प्रजननका लागि बाहिरबाट आउनेलाई पनि उपलब्ध गराउन सकिने उनले बताए । उनले यस बोकाको प्रजननले स्थानीय बाख्राको उत्पादनमा महत्त्वपूर्ण टेवा पुग्ने अध्यक्ष सापकोटाले जनाए ।

नगर पशु शाखाका प्रमुख धनेश्वर खनालले शिवराज नगरपालिकाका कृषकलाई नश्ल सुधारका लागि उन्नत जातको बङ्गूरहरु वितरण समेत गरेको बताए । उनले नश्ल सुधारपछि कृषकले बढि लाभ लिन सक्ने बताउँदै बोकाको हेरचाह र खानपिनमा ध्यान पु¥याउन आग्रह गरे ।

भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तौलिहवाका विष्णु प्रसाद खनालले कृषि तथा भूमि व्यवस्था मन्त्रालय प्रदेश सरकार र पशुपन्छी तथा मत्स्य विकास निर्देशालयको निर्णय कार्यन्वयन गर्न सामुदायिक प्रजनन केन्द्र स्थापनाका लागि उन्नतजातको बोका उपलब्ध गराइएको बताए ।