काठमाडौं : प्रथम पूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज (मंगलबार) गणेश चतुर्थी पर्व मनाइएको छ।

सत्य युगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, धनगणेश, जलविनायक, कार्यविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेश चतुर्थी पर्व मनाइएको हो।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। हरितालिका (तीजको व्रत) पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन्।

यस अवसरमा आजै गणेश रथयात्रा पनि गरिने जनाइएको छ। भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका वर्तालुले आज चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ।

मङ्गल चतुर्थीसमेत भनिने यो पर्व यस वर्ष मङ्गलबार नै परेको छ। यस पर्वका अवसरमा आजका दिन नेवार समुदायले चथा पर्वका रूपमा मनाउने गर्छन्। यसवर्ष तिथि घटबढका कारण ऋषिपञ्चमी पर्व पनि आजै परेको छ।

आज गणेशको पूजा, आराधना गरेपछि आजै महिलाले खोला, नदी, ताल, तलाउमा विधिपूर्वक स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा, आराधना गर्ने गर्छन्।