काठमाडौं : सरकारले शिक्षक सरुवामा कडाइ गरेको छ। बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा नियुक्ति भएको तीन वर्ष पूरा भएपछि मात्रै सरुवा हुन र गर्न पाइने व्यवस्था छ।

‘एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा सहमतिको आधारमा सरुवा गर्नुपर्ने, नियुक्ति भएको मितिले कम्तीमा तीन वर्ष पूरा नभएसम्म सरुवा गर्न नपाइने,’ विधेयकमा भनिएको छ।

यस्तै रमाना दिँदा कितावखानामा रेकर्ड अद्यावधिक गरी सकेपछि मात्र रमाना दिनुपर्ने व्यवस्था गरिएको विधेयकमा उल्लेख छ। यसअघि सरुवा हुनलाई यस्तो निश्चित समय तोकिएको थिएन।