१५ दिन बितिसक्दा पनि सम्पर्कविहीन डोल्पाका मेजर
सुर्खेत, २५ भदौ ।
डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपती मेजर विमल पण्डित सम्पर्कविहीन भएको १५ दिन बितिसक्दा पनि अवस्था अझै अज्ञात रहेको छ । भदौ १० गते अपरान्ह चार बजे पैदल निस्केका उनको अवस्था अझै अज्ञात रहेको पाइएको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका ३८ वर्षीय पण्डितको विषयमा कुनै पनि सूचना प्राप्त नभएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्रर पोख्रेलले जानकारी दिए ।
उनको परिवारले खोजीका लागि आग्रह गरेको पोख्रेलले बताए । ‘मेजरको मामा पनि यहाँ आएर हामीसँगै खोजी कार्यमा लाग्नुभएको थियो’ प्रमुख जिल्ला अधिकारी पोख्रेलले भने, ‘उहाँका अन्य परिवारहरु पनि यहाँ आउँदै हुनुहुन्छ भन्ने मलाई खवर प्राप्त भएको छ तर, आज मौसमको कारण हवाइजहाज आउन नसकेकाले उहाँहरु नेपालगञ्जमै रोकिनुभएको छ भन्ने सूचना प्राप्त भएको छ ।’
लामो समयसम्म दाजुको अवस्था पत्ता नलागेपछि मेजर पण्डितको बहिनीले दाजुको खोजी गरिदिनको लागि अनुरोध समेत गरेकी छिन् । उनले यसअघि शुक्रबार ‘धैर्य गर्नु मात्र विकल्प रह्यो’ लेख्दै परिवारले भोगिरहेको पीडालाई सामाजिक सञ्जाल फेसबुकमार्फत शेयर गरेकी थिइन् ।
मेजर पण्डित सम्पर्कविहीन भएको भोलिपल्टबाट खोजी थालेका सुरक्षा निकायले उनी हराउनुको कुनै सूचना समेत फेला पार्न सकेका छैनन् । सेनानी पण्डित सम्पर्कविहीन भएको त्रिपुराकोट क्षेत्रका सबै ठाउँमा सुरक्षा निकायले सर्च अभियान चलाए पनि कुनै सुराक पत्ता लाग्न नसकेको पोख्रेलले बताए ।
मेजर पण्डित त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोटसम्म पुगेको खुले पनि त्यहाँबाट कहाँ गए भन्ने कुनै पत्तो सुरक्षा निकायले लगाउन सकेको छैनन् । उनी त्रिपुराकोट पुगेपछि नगद २६ हजार सटही गरेर झोला खरिद गरेको, मोबाइल चार्ज गरेपश्चात स्थानीय एक होटेलमा कोठा भए नभएको बारे सोधेको अनुसन्धानबाट खुलेको प्रजिअ पोख्रेल बताउँछन् । त्यसपश्चात त्यहाँबाट निस्किएका पण्डित कहाँ गए भन्ने कुनै पत्ता लाग्न सकेको छैन । उनी भन्छन् ‘अपरान्ह चार बजे निस्किएका मेजर पण्डितको साँझ सात बजेपछि सम्पर्कविहीन भएको पाइएको छ ।’
‘त्रिपुराकोटसहित डोल्पाको सबै क्षेत्रमा खोजी कार्य जारी राखेका छौ । हामीले सकेजति प्रयास गरिरहेका छौ’ उनले भने, ‘जिल्ला मात्रै होइन देशभरका सुरक्षा निकायसँग पनि समन्वय गरिरहेका छौ तर, केही पनि सूचना प्राप्त भएको छैन ।’
उनले डोल्पाको तल्लो क्षेत्र, जुम्ला, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोलीले सर्च अभियान चलाएको बताए ।
मेजर पण्डितलाई खोज्न नेपाली सेनाको जुम्लाबाट प्रमुख सेनानी सुमन श्रेष्ठसहितको टोली एक हप्तादेखि डोल्पामा छ । कमै बोल्ने बानी भएका मेजर पण्डित मानसिक समस्या सिर्जना हुँदा कतै गएको हुन सक्ने अनुमान गरिएको छ । तर, पण्डितका परिवारले घरपरिवारसँग कुनै विवाद नभएको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















