सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा शुरु
बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा गौरा पर्व शुरु भएको छ। यसअघि भदौ ७ गते गौरा नमनाएका ठाउँहरुमा सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा शुरु भएको हो।
यो वर्ष ज्योतिषहरुबीच विवादका कारण दुई गौरा भएका छन्। केही ठाउँमा भदौ ७ गते गौरा मनाइसकिएको छ भने बाँकी ठाउँमा सोमबार गौरा पर्व शुरु भएको हो।
पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ। त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनास्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ।
गौरा पर्व भाद्र शुक्ल अथवा कृष्ण पक्षमा पर्ने भन्दै आजदेखि गौरा शुरु भएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताए।
गौरा पर्वको पहिलो दिन सोमबार बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा ५ प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन्। गौराको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा ५ प्रकारका अन्न बिरुडा भिजाएका छन्।
ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामूहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको दोगडाकेदार-३ का फुनडी विष्टले बताइन्।
सुदूरपश्चिमको मौलिक चाडसमेत रहेको गौरामा खास गरेर विवाहित महिलाले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्छन्। बिरुडा पञ्चमीकै दिनदेखि ब्रतालु महिलाले गौराको पूजाआजा गर्ने गरेका छन्।
यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाएका छन्। पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ।
सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ। गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ।
ब्रतालु महिलाले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना पति, छोराछोरी र आफन्तजनको चिरायु दिर्घायुको कामना गर्दै टाउको पुज्ने गर्छन्।
शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन छ। गौराको समयमा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत लगायतका खेलहरु पनि खेल्ने चलन रहेको छ।
४ दिनसम्म मनाइने गौराको बैतडीसहित सुदूरपश्चिम प्रदेशभरि रौनक छाएको छ। सुदूरपश्चिमेलीले दशैंभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गर्छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















