विजयनगरकाे मधवानगर ‘नमुना गाउँ’ पूर्ण सरसफाई यस गाउँबाट सिक्ने की ?
घनश्याम भर
विजयनगर, १७ भदौ ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका -२ मधवानगर पूर्ण सरसफाई उन्मुख छ । खानेपानी तथा सरसफाईकाे सम्पूर्ण सूचक पूरा भई ‘मधवानगर नमुना गाउँ’ बन्न सफल भएको छ । पूर्ण सरसफाई अभियानले गाउँकाे मुहार नै फेरिएको छ । मधवानगर अहिले सफा, सुन्दर, स्वच्छ र चिटिक्क आकर्षक देखिन्छ । कुनै रङ्गराेगनले हाेइन सरसफाई गरेरै राम्रो गाउँ, सुन्दर गाउँ सफा देखिएको हाे ।
सरसफाई अभियानकाे लागि ‘सिक्ने र सिकाउने’ शिक्षण केन्द्र भन्दा पनि फरक नपर्ला । याे नमुना गाउँले सबै गाउँबासीलाई पूर्ण सरसफाई गाउँ बनाउन सकिन्छ भन्ने गतिलो उदाहरण समेत दिएकाे छ । मधवानगर नमुना गाउँमा सबैकाे घरमा शुद्ध खानेपानीकाे धारा जडान गरिएको छ । घर-घरमा भाँडा सुकाउने चाँङ बनेका छन् । यो चाँङमा राम्रोसँग सुकेपछि मात्र भाँडा घरभित्र राख्ने गरेका छन् । सफा शौचालय र स्नान घर छ । साबुनपानीले हात धुने व्यवस्था छ । गाई, भैँसीकाे गोठ, बाख्रा, कुखुराका खाेर सफाई गरिएको छ ।
भकारो पनि सफाई गरिएको छ । भान्सा काेठासमेत सफा रहेका छन् । सबैकाे घरमा शुद्ध खानेपानीकाे लागि बायाे-स्याण्ड फिल्टरसमेत राखिएका छन् । आर्सेनिकरहित पानी पिउनका लागि बायाे-स्याण्डर फिल्टर राखिएको हाे । विजयनगर गाउँपालिकाकाे ५० प्रतिशत अनुदानमा सबैकाे घरमा बायाे-स्याण्ड फिल्टर राखिएकाे छ । मधवानगर तरकारी उत्पादन पकेट क्षेत्रकाे रुपमा समेत चिनिएकाे गाउँ हाे । यहाँ किसानले तरकारी खेती गर्दै मनग्ये आम्दानी समेत गर्दै आएका छन् । उनीहरुले व्यवासयिक रुपमा पनि तरकारी खेतीलाई जाेड दिएका छन् । कृषि खेती क्षेत्रमा पनि अब्बल छन् मधवानगरबासी ।
तरकारी खेतीबाट पनि मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने गाउँपालिकामै एक फरक उदाहरण दिएकाे छ । विजयनगर खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ एवं मधवानगर खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष खड्क बहादुर थापाले सरसफाई अभियानले गाउँबासीकाे आनीबानी, व्यवहार फेरिएको बताउँछन् । उनले सबै गाउँले सचेत भएकाे बताउँदै पूर्ण सरसफाई अभियानलाई निरन्तरता दिएकाे बताए । उनले घर-घरमा सरसफाई अभियानले गाउँका सबैकाे दैनिक कार्यमा परिवर्तन आएको जिकिर गरे । अध्यक्ष थापाले ‘गाउँलाई पूर्ण सरसफाई युक्त बनाउने अभियान सुरु भएपछि हरेक घरमा सरसफाईले परिवर्तन आएको छ ।’ उनले भने ‘बालबालिकादेखि बुढाबुढीसम्मले सरसफाई अभियानमा साथ दिएका छन् । साप्ताहिक रुपमा शनिबारका दिन पुरै गाउँकाे बाटाे, गल्ली, सार्वजनिक स्थल, मठमन्दिर सरसफाई गर्ने नियम बनाइएको छ ।
’ सार्वजनिक स्थानमा पनि सफा पानी पिउने र फोहोरको उचित व्यवस्थापनको काम थालिएको उनले बताए । यी सबै कार्यलाई निरन्तर रुपमा अनुगमनसमेत गरिरहेकाे उनकाे भनाई छ । मधवानगर संघर्षशील कृषक समुहका अध्यक्ष बल बहादुर एमसीले गाउँकाे सरसफाई कार्यमा सक्रिय छन्। उनले सुरक्षित शौचालय, फाेहाेरमैला र साबुनपानीले हात नधुँदा विभिन्न सरुवा राेग लाग्ने गरेकाे बताए । सरसफाईकाे कमीले लाग्ने राेगलाई राेकथाम तथा न्यूनीकरणमा सहज भएको उनकाे भनाई छ । बालबालिकालाई झाडापखाला, आउँ, हैजा टाइफाइड जस्ता लाग्ने राेग, खानपानमा बेवास्ता गर्दा लाग्ने रोगबाट सुरक्षित हुनलाई सरसफाई अभियानले सबैलाई सचेत गराएकाे उनले बताए । दूधाधारी माध्यमिक विद्यालयका शिक्षक तथा स्थानीय सुर्य पाैडेलले साना-साना बालबालिकाले पनि सरसफाई, साबुनपानीले हात धुने गरेकाे बताउँछन् ।
‘बाटैमा शौच गर्ने, गाउँघर वरिपरि शाैच गर्ने अवस्थाबाट परिवर्तन भएको छ । शिक्षक पाैडेलले भने । उनले सबै घरमा पूर्ण सरसफाईकाे सूचक पुरा भएकाे बताउँदै यस अभियानलाई निरन्तरता दिँदै जाने बताए । शनिबार संघर्षशील कृषक समुहले सञ्चालन गरेकाे सरसफाई अभियानमा हाेमिएका पाैडेलले कार्यक्रममा यस्तो सुनाएका हुन् । यस्तै मधवानगर आमा समुहकी अध्यक्ष सुवित्रा खड्काले पारिवारिक र व्यक्तिगत सरसफाईमा पूर्ण रुपमा ध्यान दिएकाे बताइन् । उनले आमा समुहका सदस्यहरुकाे सक्रियतामा सरसफाई अभियानलाई जाेड दिएकाे बताइन् । उनले गाउँलाई पूर्ण सरसफाई उन्मुख बनाउनलाई आमा समुहले अहम भूमिका निर्वाह गरेकाे बताइन् ।
सबैकाे एकताले सफा र सुन्दर गाउँ बनाउन सफल भएकाे खड्काले बताइन् । यस्तै ज्ञानपुञ्ज महिला विकास समितिकी अध्यक्ष सीता थापाले पूर्ण सरसफाई उन्मुख हुँदा खुसी लागेकाे बताइन् । उनले हामी सबैकाे लगनशीलता, सक्रिताले गाउँकाे मुहार नै फेरिएकोले भन्दै खुसी व्यक्त गरिन् । उनले चेतनामूलक कार्यक्रम, एकआपसमा छलफल र एकजुट भई लाग्दा सरसफाई अभियान सफल भएको बताइन् । यसैगरी समाजसेवी प्रमिला पाैडेलले पनि कुनै पनि काम असम्भव नभएको बताउँछिन् । उनले परिवर्तन गर्न साेँच र आँट हुनुपर्छ जस्तो सुकै काममा सफल भइन्छ र सबै एकजुट हुनु नै परिवर्तनकाे संकेत भएकाे बताउँदै सकारात्मक साेँचले अगाडी बढ्दै जाने हाे भने समृद्ध र सभ्य समाज निर्माणमा समेत टेवा पुग्ने पाैडेलकाे विश्वास छ ।
उनलेे अहिलेकाे परिवेश अनुसार समृद्धि र विकास लागि बदलाव जरुरी रहेकाे बताइन् । शनिबार सञ्चालित सरसफाई कार्यक्रममा वास अभियानता दयाराम शर्माले मधवानगर गाउँलाई थप पूर्ण सरसफाईलाई निरन्तरताका लागि प्रशिक्षण दिएका छन् । उनले सफा सडक, हरित सडक, हरित गाउँ, सडक फाेहाेर व्यवस्थापन, फूलबगैँचा, शुद्ध खानेपानी लागयत आनीबानी र व्यवहारमा परिवर्तन सम्बन्धी प्रशिक्षण दिएका थिए । उनले विजयनगर गाउँपालिकालाई नै पूर्ण सरसफाई अभियानलाई सफल पार्न लागेकाे बताउँदै सबै गाउँबासी जागरुक हुन आवश्यक रहेकाे बताए ।
अहिले मधवानगरमा ४२ घर छन् । जनसंख्या २ सय १० रहेकाे छ । यहाँका सबै घरमा शुद्ध पानीको धारा जडान गरिका छन् । एक घर, एक धारा अवधारणा अनुसार ‘मिटरजडित धाराकाे व्यवस्थापन गरिएको छ । अभियान सफल पार्न सार्वजनिक शौचालय निर्माण गर्ने याेजना छ । वृक्षारोपण गरि गाउँभित्रका सबै सडक किनारमा ‘हरित सडक’ निर्माण गर्ने याेजनासमेत छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















