बढेन शिक्षकको सेवा सुविधा, कुन तहकाले कति पाउँछन् ?
काठमाडौं : शिक्षकहरूले आफ्नो सेवा सुविधा बढाउनुपर्ने माग गरे पनि सरकारले चालू आवमा उनीहरूको सेवासुविधा बढाएको छैन।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०।०८१ अनुसार शिक्षकहरूकाे सेवासुविधा साविक बमोजिम तोकिएको छ।
कार्यक्रम कार्यान्वयन पुस्तिकानुसार सबै तहका शिक्षकले १२ महिनाकै तलब अर्थमन्त्रालयले स्वीकृत गरेको स्केलअनुसार पाउनेछन्। सबै तहका शिक्षकहरूले एक महिना बराबरको चाडपर्व खर्च पाउनेछन्।
महँगी भत्ता तोकिएअनुसार दिइनेछ। स्थानीय भत्ता सबै तहका स्वीकृत दरबन्दीमा कार्यरत स्थायी, अस्थायी र करारका शिक्षकले स्थानीय भत्ता पाइने जिल्लामा भए वर्षभरिको जम्मा १०.५ महिनाको पाउनेछन्।
यसैगरी प्राविधिक धारमा कक्षा ९-१० मा कार्यरत प्रशिक्षक, सहायक प्रशिक्षक र प्राविधिक धारमा कक्षा ११-१२ मा कार्यरत प्रशिक्षकले पनि स्थानीय भत्ता पाइने जिल्लामा भए वर्षभरिको जम्मा १०.५ महिनाको पाउनेछन्।
प्राविधिक भत्ताको हकमा प्राविधिक धारमा कक्षा ९-१० मा कार्यरत प्रशिक्षक, सहायक प्रशिक्षक र प्राविधिक धारमा कक्षा ११-१२ मा कार्यरत प्रशिक्षकले मासिक ३ हजारका दरले १० महिनाको मात्र पाउनेछन्।
प्रधानाध्यापक भत्तामा प्राथमिक तहमा मासिक २ सय, निम्न माध्यमिक तहमा ३ सय र माध्यमिक तहमा ५ सय तोकिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षा मन्त्रालयको कार्यक्रम कार्यान्वयन पुस्तिका आव २०७९।०८० अनुसार नै शिक्षकहरूको सेवासुविधा तोकिएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























