घनश्याम भर। २८ साउन, (विजयनगर) कपिलवस्तु । नेपाल शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा ऐनका विभिन्न बुँदा तथा केही व्यवस्थाहरूको विरुद्धमा आन्दोलनमा उत्रिएको छ । महासंघले आइतबारदेखि देशैभरि शिक्षा ऐन र व्यवस्थाको विरोधमा आन्दोलनका कार्यक्रम गरेको छ ।

यस्तै नेपाल शिक्षक महासंघकाे केन्द्रीय निर्णय अनुसार कपिलवस्तु जिल्लाकाे १० ओटै पालिकाहरुमा आन्दोलनका कार्यक्रमहरु गरिएकाे छ । महासंघले शिक्षकहरूको माग सम्बोधन नगरे अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनीसमेत दिएकाे छ ।

आइतबारदेखि पहिलो चरणको आन्दोलन धर्ना दिएर सुरु गरिएकाे नेपाल शिक्षक महासंघ विजयनगर गाउँपालिकाकी संयाेजक कमला भुषालले जानकारी दिइन् । महासंघले पहिलो चरणमा स्थानीय तहमा पुगेर दबाबमूलक कार्यक्रम गरिएकाे उनले बताइन् ।

स्थानीय तहका कार्यालय अगाडी सम्बन्धित शिक्षक–कर्मचारीहरुकाे उपस्थितमा तीन घण्टा धर्ना बसेकाे र धर्नाको समापनसँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छाँयाप्रति सहित केन्द्रबाट पठाइएको जानकारी पत्रसमेत स्थानीय तह समक्ष पेस गरिएकाे बताइन् । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा र शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेलाई शिक्षकहरुकाे माग सम्बाेधन गर्न अनुराेध गरिएकाे संयाेजक भुषालले बताइन् ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले शिक्षकहरुकाे माग जायज रहेकाे बताउँदै पालिकाबाट हुन सक्ने आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । उनले गाउँपालिकाकाे स्राेत साधनले भ्याएसम्म शिक्षकहरुकाे सेवा सुविधालाई सम्बाेधन गर्ने बताए । सरकारले समानीकरण लगायत शिर्षकमा रकम नपठाएपछि बढी बजेट बनाउन र शिक्षकहरुकाे तलब बृद्धिमा समस्या भएको उनकाे भनाई छ