काठमाडाैँमा माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने, त्यसपछि कारबाही
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरभित्र माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने बताएका छन्। शुक्रबार उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्।
‘माइक्रो प्लाष्टिकले मानव कोषमा पार्ने असर सबैभन्दा घातक छ, यसैकारण दीर्घ रोग र महामारीबाट जनधनको क्षति वेहोर्नु परिरहेको छ, मानिसमा जस्तै असर अन्य जीव जनावरमा पनि परेको छ, जमिनको उर्वराशक्ति क्षय भइरहेको छ,’उनले भनेका छन्।
उनले मानव सभ्यता र वातावरण माथिको यो असर घटाउन काठमाडौं महानगरपालिकाले पोलिथिन झोला र प्लाष्टिकजन्य फूललगायतका सामान निषेध अभियान थालनी गरेको बताए।
‘अहिलेसम्म विग्रिएको अवस्थामा सुधार ल्याउन र बचेको अवस्थालाई संरक्षण गर्न मानव आचरण र व्यावसायिक क्रियाकलापमा सुधार गर्नुपर्छ, नागरिकको स्वच्छ वातावरणमा स्वास्थ्य भएर बाँच्न पाउने संरक्षण गर्न काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ,’उनले भने।
उनका अनुसार यसको कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गरिने छ। ‘प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइनेछ,’उनले भने,‘टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्छ, यदि यी पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्छ, प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामानचाहिँ कुनै पनि प्रयोग गर्न पाइँदैन,यसर्थ, अनुगमनमा आउनु र जफत गर्नु अघि आयात, भण्डारण र विक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले निषेधित कार्य नगर्न नगराउन अनुरोध गर्दछु।’
उनका अनुसार प्लाष्टिक उत्पादन गर्न रसायनको पनि प्रयोग गरिन्छ। त्यसैले यसलाई बाल्दा डाइअक्सिन, फ्युरान जस्ता विषाक्त ग्याँसहरू उत्सर्जन हुन्छन्। जुन ग्याँसका कारण मानिसमा फोक्सो, मुटु र छाला सम्बन्धी रोगहरू लाग्ने खतरा हुन्छ।
फालिने प्लाष्टिकले ढल निकास बन्द हुन्छ। माटोको प्राकृतिक गुण परिवर्तन गरिदिने, जथाभावी उडेर तथा छरिएको अवस्थामा रहेर सहरी सुन्दरतामा ह्रास ल्याउँछ।
सहरको सभ्यताका विम्ब वागमती, विष्णुमती, मनोहरा, धोवीखोला, टुकुचालगायतका नदी, राजकुलाहरू र खुल्ला स्थानहरूमा प्लाष्टिक फ्यालिएका कारण प्रदुषित बनेको उनको भनाइ छ। ‘सामुदायिक चौपायाले खानेकुरासँगै प्लाष्टिक खाँदा पशु स्वास्थ्यमा पनि गम्भीर आघात परेको छ,’उनले भने। उनका अनुसार प्लाष्टिक प्रयोग र असरका विभिन्न तथ्यहरू छन्।
सहरमा उत्पादन हुने फोहोरमध्ये ७५.५ प्रतिशत जैविक र २४.५ प्रतिशत नकुहिने फोहोर छ। नकुहिने फोहोरको सबैभन्दा धेरै प्लाष्टिक (६.५ प्रतिशत) छ। यसको पनि ३.८ प्रतिशत पोलिथिन झोला छ। नकुहिने अन्य फोहोरमा धातु, शिशा, रबर, कपडाजन्य, विद्युतीय र अन्य खालको फोहोर छ। नदीलाई प्रदुषण गराउन प्लाष्टिकको ७० प्रतिशत भूमिका छ।
काठमाडौं उपत्यकामा दैनिक करिव ५० लाख थान प्लाष्टिक झोलाको प्रयोग हुने उनको अनुमान छ। ‘प्लाष्टिक निषेध गर्न यस अघि गरिएका प्रयास र नतिजाका विषयमा यहाँलाई जानकारी हुनुपर्छ, त्यसको स्मरण यसरी गर्न सकिन्छ, प्लाष्टिक जन्य वस्तुको उत्पादन तथा उपयोगका कारण वातावरण र जनस्वास्थ्यमा प्रतिकूलता भइ व्यक्तिको स्वास्थ्य रूपमा बाँच्न पाउने अधिकार कुण्ठित भएको जिकिर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ,’उनले भने।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















