प्रहरीले सार्वजनिक गर्यो गौतमको हत्यामा संलग्न इन्द्रबहादुरलाई
गलकोट : बागलुङको गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी बेलकुमारी गौतमको हत्यामा संलग्न सोही गाउँका इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ।
फागुन १९ गते राति ६५ वर्षीया गौतमको शव उनको घरको पूर्व पाण्डुकेसरी वनको गोरेटो बाटोदेखि अन्दाजी ६० मिटर तल भिरमा फेला परेको थियो।
शव भेटिँदा गौतमको गहना लुटिएको देखेपछि लडेर नभइ हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानको क्रममा विकले हत्या गरेको पुष्टि भएपछि प्रहरीले उनलाई आइतबार सार्वजनिक गरेको छ।
गलकोट नगरपालिका–९ चुँदारा टोल बस्ने ४३ वर्षीय इन्द्रबहादुर विकले पछाडिबाट चिउँडो र टाउकामा समाती मुन्टो बटारी हत्या गरेर गहरगहनासमेत लुटी भिरबाट खसालेको अनुसन्धानका क्रममा पाइएकाले पक्राउ गरेर सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए। विकले अनुसन्धानका क्रममा आफूले हत्या गरेको स्वीकार गरेका छन्।
८ महिनामा ५० जना महिलामाथि हिंसा
८ महिनामा यहाँ ५० जना महिलामाथि हिंसा भएको छ। चालू आव ०७९/८० को साउनदेखि हालसम्म ५० जना महिलाले आफूमाथि हिंसा भएको निवेदन दर्ता गरेको अल्पकालीन महिला सेवा केन्द्र बागलुङले जनाएको छ।
आफैँ सम्पर्कमा आएका २९ जना र जिल्ला प्रहरी कार्यालयमार्फत आएका २१ जनाको निवेदन दर्ता भएको महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख सरस्वतीदेवी रेग्मीले जानकारी दिइन्।
५० मध्ये २० घटना यौनजन्य दुर्व्यवहारसम्बन्धी, १० घरेलु हिंसा, ११ सम्बन्धविच्छेद, ५ आर्थिक हिंसा, एउटा बहुविवाह, एउटा हाडनाता करणी, एउटा अंशमुद्दा र एउटा बेवारिसे अवस्थासम्बन्धी रहेको जानकारी रेग्मीले दिइन्।
उनका अनुसार दर्ता भएका मुद्दामध्ये १३ बागलुङ नगरपालिकाका, ५ जैमिनीका, ३ गलकोटका, ४ ढोरपाटनका, ७ काठेखोलाका, २ ताराखोला, ५ बडीगाड, ४ निसीखोलाका, एउटा तमानखोलाका र अन्य जिल्लाका ६ मुद्दा रहेका छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















