पर्वत : कर्तव्य ज्यानसम्बन्धी कसुरका फरार एक अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतका अनुसार पर्वतको पैयुँ गाउँपालिका घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेमा बस्दै आएका ४८ वर्षीय डबिन गुरुङलाई पक्राउ परेका हुन्।

सर्वोच्च अदालतले २०६६ साल फागुन ३ गतेको फैसलामा गुरुङलाई ‘कर्तव्य ज्यान’ सम्बन्धी कसुरमा आठ वर्ष दुई महिना २३ दिन कैद सजाय सुनाएको थियो।

अदालतको आदेशसँगै फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकेर बसेको अवस्थामा मंगलवार पक्राउ गरेको हो।

गुरुङलाई मंगलबार नै पर्वत जिल्ला अदालत उपस्थित गराएर कारागार चलान गरेको प्रहरी निरीक्षक राउतले बताए।