काठमाडौं : संविधानमा व्यवस्था भएभन्दा बढी विशेषाधिकार माग गरेपछि प्रतिनिधिसभा नियमावली मस्यौदा समिति बैठकमा सांसदहरुबीच भनाभन भएको छ।

आफूहरू सांसद भएकाले संविधानको भन्दा बढी विशेषाधिकार चाहिने मानसिकतासहितको तर्क गर्न थालेपछि उनीहरूबीच भनाभनको स्थिति उत्पन्न भएको हो। सांसदहरू स्वयं नियममा बाँधिने विषयमा राखिने प्रावधानका सम्बन्धमा मतऐक्यता नभएपछि सदस्यहरुबीच भनाभनको स्थिति उत्पन्न भएको थियो।

फौजदारी अभियोगमा पक्राउ परेर मुद्दाको अन्तिम किनारा नलागेसम्मका विभिन्न चरणमा सांसदको पद र सुविधा के कस्तो हुने भन्ने सम्बन्धमा गरिने व्यवस्थाका बारेमा समिति सदस्यहरूबीच मत भिन्नता देखिएको थियो। यसै क्रममा छलफलबाट प्राप्त निष्कर्ष सुनाउन लाग्दा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सचिवालयका कर्मचारीले छलफलमा हस्तक्षेप गरेको भन्दै आक्रोश पोखे।

यसअघि बैठकमा न्यायलयको निर्णयमा विश्वास नरहेको भन्दै सांसदलाई नियममा बाँध्ने विषयमा असहमति जनाउँदै आएको सांसद सिंहले त्यसको सम्पूर्ण रिस प्रवक्ता गिरी माथि खन्याउँदै “तपाईं एमालेको कार्यकर्ता हो सुवासचन्द्र नेम्वाङसँग मात्रै खुसुखुसु गर्नुहुन्छ” भनेपछि बैठक कक्षको वातावरण खलबलिएको थियो।

सांसद सिंहले समिति सदस्य एवं संविधानसभाका अध्यक्ष नेम्वाङलाई “गिरिस चन्द्रलालको रिपोर्ट किन सार्वजनिक गर्नुभएन” भनी प्रश्न गरेपछि अर्का सदस्य महेश बर्तौलाले बैठकमा नियमापत्ति गरेका थिए।

बैठकको बहस विषय वस्तुभन्दा बाहिर जान थालेपछि सभापति चित्रबहादुर केसीले विषय केन्द्रित हुन निर्देशन दिनुपरेको थियो ।