जनकपुरधाम : मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले विपन्न जनताको पहुँचमा टेलिकमलगायत अन्य सञ्चार प्रदायकहरूको सेवा पुग्न नसकेको र सबैलाई सञ्चार सुविधा उपलब्ध गराउन आवश्यक भएको बताएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा शुक्रबार ‘मधेश प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, दूरसञ्चार सेवाको गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासँगको अन्तरक्रिया’ मा मन्त्री सिंहले दूरसञ्चारको सेवा गरिब जनताको घरदैलोमा सुलभ तरिकाले सेवा प्रवाह हुनुपर्ने आवश्यकतासमेत रहेको बताए।

उनले देशलाई समृद्धि र विकासको पथमा लानका लागि अनेकन सम्भावनाहरू भएकाले ठूलो सम्भावना भएको क्षेत्रको रुपमा सूचना र प्रविधि पनि भएको बताए। उनले नेपाल टेलिकम तथा एनसेलजस्ता सेवा प्रदायकले अझै पनि मधेशका गाउँघरमा प्रभावकारी किसिमले सेवा दिन नसकेको बताउँदै सेवालाई विस्तार गर्न मधेश प्रदेश सरकार सहयोग गर्नका लागि तयार रहेको बताए।

मधेश प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतले सूचना प्रविधिको अधिकतम प्रयोगसँगै साइबर अपराधका कुरा आउने भएकाले सूचना प्रविधिलाई पूर्ण सुरक्षित बनाउने गरि दूरसञ्चार प्राधिकरणले काम गर्न आवश्यक भएको बताए। विश्वका कतिपय देशहरूले समृद्धिको माध्यम सूचना प्रविधिलाई बनाइरहेको बताउँदै नेपाल अहिले यसमा निकै पछाडि रहेको जानकारी गराए।

कार्यक्रममा सञ्चारकर्मी, स्थानीय निकायका प्रमुख तथा नेपाल दूरसञ्चार प्राधिकरणका उच्च अधिकारीहरू, सेवा प्रदायक संस्थाहरूको सहभागिता थियो।