७८ लाख ५० हजार रुपैयाँसहित दुई हुण्डी कारोबारी पक्राउ
काठमाडौं : प्रहरीले ७८ लाख ५० हजार रुपैयाँ र चार लाखको चेकसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।
नेपाल राष्ट्र बैँकले जारी गरेको निर्देशन विपरीत इजाजतपत्र नलिई वित्तीय कारोबार (हुण्डी) गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
कार्यालयको विशेष टोलीले निगरानी गर्ने क्रममा उनीहरूबाट हुण्डी गर्न संकलित रकमसँगै चार लाखको चेकसमेत बरामद गरेको छ। पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको बिजुलीबजार बस्ने किशोर चौधरी र सोही ठाउँका दीपेन्द्रबहादुर मल्ल छन्।
मल्लले पाँच वर्षदेखि र चौधरीले चार महिनादेखि कारोबार गर्दै आएको पाइएको कोइरालाले जानकारी दिए। उनीहरूलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम आवश्यक कारबाहीका लागि आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको उनले बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















