विकास र समृद्धिका लागि मिडियाको भूमिका महत्वपूर्ण : मन्त्री गिरी
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले लोकतन्त्र बलियो बनाउन प्रेस जगत बलियो हुनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसमा चितवन शाखाको कार्यक्रममा उनले भ्रष्टाचार र विसंगतिविरूद्ध हिम्मतिलो भएर कलम चलाउन मिडियाकर्मीहरूसँग आग्रह गरे।
‘अबको समृद्धि भनेकै विकास र आर्थिक प्रगतिका लागि उत्पादनका क्षेत्रहरू विकास गरेर जानु आवश्यक छ। यसमा विसंगति र भ्रष्टाचार पर्खाल बनेर खडा छन्,’ उनले भने, ‘भ्रष्टाचारविरूद्ध तपाईंहरूबाट बमबारी हुन सकोस्। विकृतिविरूद्ध कलम चलाउने आँट गर्नुस्।’
स्वास्थ्य क्षेत्रमा धेरै विकृति र विसंगति रहेको पनि उनले बताए। ‘अस्पतालसम्म जान नसकेका कारण गाउँ गाउँमा रोग पालेर बस्नेको संख्या ठूलो छ। दुरदराजका गाउँसम्म स्वास्थ सेवा लैजाने संकल्पसहित म यस मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएको हुँ,’ मन्त्री गिरीले भने, ‘सातैवटा प्रदेशमा आइसियुसहितका सुविधासम्पन्न अस्पताल खोल्ने तथा गुणस्तरीय ल्याब र उपकरणको व्यवस्था गर्ने, गाउँ गाउँमा पनि आधारभूत अस्पताल खोलेर हरेक नागरिकलाई स्वास्थ्य सेवा दिने, बिमा कार्यक्रम फराकिलो बनाउँदै धेरैभन्दा धेरैलाई समेट्नेलगायत कार्य योजना कार्यान्वयनमा तपाईंहरुको साथ अत्यावश्यक छ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















