दीपक मनाङेले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने
पर्वत : शुक्रवार विश्वासको मत लिन लागेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले विश्वासको मत नदिने भएका छन्।
मनाङेले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रतिपक्षमा बसेर रचनात्मक काम गर्न उचित ठानेको बताएका छन्।
‘गण्डकी प्रदेशमा एमालेबाट प्रस्तावित मुख्यमन्त्री माननीय खगराज अधिकारीले लिन गएको विश्वासको मतमा म मनाङ जिल्ला (ख) बाट निर्विरोध निर्वाचित प्रदेश सभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु’, उनले लेखेका छन्, ‘एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टी को २ मत बाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानु भन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु।’
मनाङबाट स्वतन्त्र रूपमा उठेर सर्वसम्मत रूपमा सांसद बनेका उनी चुनावपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। एकीकृत समाजवादीले गण्डकीमा विश्वासको मत दिन के गर्ला? भन्ने चासो चलिरहेकै बेलामा अधिकारीले मनाङेसँग भेट गरेका थिए। मुख्यमन्त्री दाबी गर्नका लागि मनाङले समर्थन गर्ने बताएका थिए।
मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै मनाङले आफू अब मन्त्रीका लागि लालायित नरहेको बरु दुई वर्षपछि खगराज अधिकारी मुख्यमन्त्रीबाट बाहिरिने र आफू मुख्यमन्त्री बन्ने बताएका थिए।
गण्डकी प्रदेश सभामा ६० जना सदस्य रहेका छन्। बहुमतको सरकार बनाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ। ३३ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका अधिकारीले अब विश्वासको मत लिने बेलामा ३२ जना सांसदको समर्थन पाउने छन्। एमालेका २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना छन्।
गण्डकी प्रदेश सभामा सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेसका २७ सांसद छन्। मुख्यमन्त्री अधिकारीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेसलाई पनि आह्वान गरिरहेका छन्।
मुख्यमन्त्री अधिकारीले शुक्रवार दिउँसो ३ बजे प्रदेश सभा हल नदीपुरमा बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिनेछन्। शपथ लिए लगत्तै पुस २५ मा नै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार समेत गरिसकेका अधिकारीले मन्त्रिपरिषद्को थप विस्तार भने विश्वासको मत लिएपछि गर्ने तयारी गरिरहेका छन्। मन्त्रिपरिषद् विस्तारको विषयमा भने पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भने भेट गरिसकेका छन्।
गत मंगलवार बेलुका ओली र बुधवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर उनले विश्वासको मत र मन्त्रिपरिषद् बिस्तारबारे छलफल गरिसकेका छन्। अधिकारीले पुस २५ गते नै एमालेकी सीताकुमारी सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















