सरकारी गाडी दुरुपयोग गर्दै बागमती प्रदेशकी निवर्तमान मन्त्री
हेटौंडा : बागमती प्रदेशकी निवर्तमान सामाजिक विकास मन्त्री कुमारी मोक्तान सरकारी गाडी लिएर काठमाडौं पुगेकी छिन्। मन्त्री हुँदा पाएको गाडीको प्लेटको रङ परिवर्तन गरेर उनी काठमाडौं पुगेकी हुन्।
बागमती प्रदेशमा निवर्तमान मुख्यमन्त्री– मन्त्रीलाई कुनै पनि किसिमको सेवा–सुविधा दिने कानुनी व्यवस्था छैन। नयाँ सरकार गठन भएर पदमुक्त भएको चार दिन भइसक्दा पनि उनले मन्त्री हुँदा सरकारले दिएको गाडी फिर्ता नगरेकी हुन्।
कानुनतः मन्त्री पदबाट हटेपछि आफूले प्रयोग गर्दै आइरहेको गाडीलगायतका सबै वस्तु बुझाउनुपर्छ। तर, मोक्तानले पहुँच देखाएर सरकारी स्रोतसाधनको दुरुपयोग गरिरहेकी हुन्।
मोक्तानलाई प्रदेश सरकारले मन्त्री हुँदा प्रदेश ३–००१ झ ००७७ नम्बरको सेतो स्कर्पियो दिएको थियो। १४ महिना मन्त्री भएकी उनी यही गाडी चढेकी थिइन्। बागमती प्रदेशमा मन्त्रीहरुले चढ्ने गाडीको नम्बर प्लेटको रंग निलो र रातो रंगको छ।
बुधबार नम्बर प्लेटको रंग परिवर्तन गरेर सोही नम्बरको गाडीमा काठमाडौं पुगेकी हुन्। उनले मन्त्री हुँदा चढ्ने गरेको प्रदेश ३–००१ झ ००७७ नम्बरको गाडीको नम्बर प्लेटको रंगलाई रातो र निलोबाट ‘मोडिफाई’ गरेर सेतो र रातो रंगको बनाएकी छन्।

गाडी लिएर उनी बुधबार बिहान नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पुगिन्। पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको दिन सरकारी गाडीमा हुइँकिँदै उनी पार्टी कार्यालय पुगेकी हुन्। मन्त्रालयका प्रवक्ता रुद्रहरि भण्डारीका अनुसार उनले पार्टी कार्यालयसम्म पुगेर आउँछु भनेर गाडी लगेकी थिइन्।
मोक्तानले गाडीको दुरुपयोग गरेको समाचार मंगलबार बिहानै सार्वजनिक भएको थियो। तर, मन्त्रालयले पहुँचको आधारमा मोक्तान गाडी लिएर काठमाडौं पुगेकी छन्। मोक्तानले आफू पुनः मन्त्री बनेर आउने बताएको मन्त्रालयका कर्मचारी बताउँछन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार नै मन्त्रालयहरुमा गाडी फिर्ता पठाउन निर्देशन दिएको थियो। तर, सामाजिक विकास मन्त्रालयले निर्देशन पालना नगरेको पाइएको छ। मन्त्रालयका प्रवक्ता भण्डारीले काठमाडौं पुगेर गाडी फर्काइदिने प्रतिबद्धता जनाएपछि पठाइएको बताए।
उनै भण्डारीले मंगलबार गाडी तत्काल फिर्ता बोलाउने बताएका थिए। तर, उनले गाडी फिर्ता नबोलाई काठमाडौं पठाएका छन्। गाडी बुधबार बिहान मोक्तानको घरमा पार्किङ गरी राखिएको भेटियो। उनी घरबाट सोही गाडी चढेर हेटौंडा–५ गर्दोहीस्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पुगेकी थिइन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















