हेटौंडा : बागमती प्रदेशसभा सभामुख चयनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ।

पुस १८ गते सोमबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको थियो।

सभामुखको निर्वाचनको प्रक्रिया पुस २७ गते नै सुरु गर्ने निर्णय गरे पनि त्यसलाई संशोधन गरी एक दिन पछि सारिएको थियो। बागमती प्रदेशसभाका सचिव कृष्णहरि खड्काले सभामुखको निर्वाचनका लागि बिहीबार बिहान १०ः३० बजेदेखि २ बजेसम्ममा मनोनयन दर्ता गराउने कार्यतालिका रहेको जानकारी दिए।

सभामुख चयनका लागि शुक्रबार निर्वाचन हुनेछ। नेपालको संविधानको धारा १८२ को उपधारा १ बमोजिम प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यमध्येबाट सभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

प्रदेश सभा सचिवालयले बिहीबार बिहान साढे १० बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकेको छ। यस्तै, दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन फिर्ता गर्ने र ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तालिका सार्वजनिक गरेको छ। सभामुखको निर्वाचन पुस २९ गते बिहान ११ बजे हुने सचिवालयले जनाएको छ।

प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन्। बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्तारुढ दलहरुबीच मुख्य पद भागबण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो।

सातदलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठक सभामुख बन्ने निश्चितजस्तै छ। सत्तारुढ गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो। एमालेले भने बिहीबार मात्र दलको बैठक बसेर उपसभामुखका उम्मेदवार चयन गर्ने जनाएको छ।

सभामुखमा राप्रपाले पुरुषलाई उम्मेदवार बनाउने भएपछि उपसभामुखमा एमालेले महिला सांसदलाई उम्मेदवार बनाउनुपर्ने संवैधानिक बाध्यता छ। संविधानअनुसार सभामुख र उपसभामुख एउटै दल र लिंगको हुनुहुँदैन।

केन्द्रको गठबन्धनअनुसार बागमती प्रदेशमा एमाले, माओवादी केन्द्र र राप्रपाको समीकरण छ। तर, प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई केन्द्रको समीकरणभन्दा बाहिर रहेका नेकपा एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीले पनि सर्मथन गरेका थिए।

समाजवादी र हाम्रो नेपाली पार्टी पनि माओवादी नेतृत्वको प्रदेश सरकारमा सहभागी हुने तयारीमा छ। त्यसैले सत्ता गठबन्धनको तर्फबाट सभामुख र उपसभामुखको उम्मेदवारले ५ दलको मत पाउने निश्चित देखिएको छ। ११० सदस्यीय बागमती प्रदेश सभामा एमालेसँग २७, माओवादीसँग २१, राप्रपासँग १३, समाजवादीसँग ७ र हाम्रो नेपाली पार्टीसँग २ मत छ। यी सबै मत जोड्दा ७० हुन्छ, जुन सभामुख र उपसभामुख निर्वाचित हुन पर्याप्त हुन्छ।

प्रदेश संरचना खारेजीको माग गर्दै आएको राप्रपाले यसपटक सभामुख पाउने सम्भावना देखिएको छ। सत्तारुढ गठबन्धनसँग बहुमत रहेको हुँदा सत्ता गठबन्धनको उम्मेदवार नै सभामुखमा निर्वाचित हुने देखिएको हो। प्रदेशसभाको दोस्रो कार्यकालमा १३ सिट जितेको राप्रपा पहिलो पटक सरकारमा पनि सहभागी भएको छ।