‘पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक’
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छिन्।
३०१ औँ पृथ्वीजयन्ती तथा एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै भण्डारीले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको धारणा राखेकी छिन्।
‘स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालन गर्नसमेतका बहुआयामिक क्षेत्रमा हामीले पृथ्वीनारायण शाहका उपदेशलाई सर्वकालिक सन्दर्भसामग्रीका रूपमा लिन सक्दछौँ’, उनको शुभकामना सन्देशमा उल्लेख छ।
तत्कालीन समयमा छरिएर रहेका साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासको विशिष्ट एवं गौरवपूर्ण अध्याय भएको उनले बताएकी छिन्।
राष्ट्रति भण्डारीले वर्तमान समयका उपलब्धिमा गौरवबोध गरिरहँदा पूर्वजहरूले इतिहासमा गरेका त्याग र बलिदानप्रति उत्तिकै सम्मान व्यक्त गर्न आवश्यक रहेको बताएकी छिन्।
‘आफ्नो इतिहासका उपलब्धिप्रति कृतज्ञ हुने समाजले मात्र आफू र आफ्ना सन्ततिमाथि न्याय गर्न सक्दछ भन्ने सत्यलाई हामी सबैले मनन गर्नु पर्दछ, शुभकामना सन्देशमा भनिएको छ, ‘यो दिवसले हाम्रो सुदृढ देशभक्तिको भावनामा एउटा बलियो आयाम थप्न योगदान मिल्ने मैले विश्वास लिएको छु।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















