कपिलवस्तु, २५ पुस ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले कपिलवस्तुमा पृथ्वी जयन्ती मनाउने तयारी गरेकाे छ । जिल्लाको कृष्णनगरमा आयोजना हुने कार्यक्रम सफल गर्नकाे लागि राप्रपाले जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा ५१ सदस्यीय मुल आयोजक समिति गठन गरेको जनाइएको छ ।

यस्तै कृष्णनगर नगर सभापति जय प्रकाश गुप्ताको अध्यक्षतामा ११ सदस्यीय आर्थिक समिति गठन गरिएको राप्रपा कपिलवस्तुले जनाएको छ । नेपालको एकीकरणमा महत्त्वपूर्ण भूमिका खेलेका शाहको ३ सय १औं जन्म जयन्ती पुस २७ गते पर्दछ ।
राप्रपाले जिल्लामा राष्ट्रिय एकता दिवसको साथै जन्मजयन्ती मनाउन लागेको हो । शाहको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरिन्छ ।

सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने चर्चा छ । राज संस्था पुनः स्थापना, हिन्दुराष्ट्रको माग गर्दै राप्रपा गएको मंसिर ४ को आम निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट जितेको छ ।