इलाम : इलामको रोङ गाउँपालिकाले गुन्द्रुक र सिन्की ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

पालिकाले स्वीस सरकार सहयोगमा नेपाल कृषि बजार विकास कार्यक्रमसँगको सहकार्यमा गुन्द्रुक र सिन्की ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको हो।

देवानछाप साना किसान कृषि सहकारीले कार्यक्रम संचालन गर्नेछ। ६७ लाख ८५ हजार रुपैयाको कार्यक्रमका लागि स्वीस सरकारले ३४ लाख ४५ हजार रुपैया उपलब्ध गराउनेछ । पालिकाले १७ लाख ६० हजार र सहकारीले १५ लाख ८० हजार लगानी गर्नेछन्।

देवानछाप सानाकिसान कृषि सहकारीको साना किसान कृषि प्रशोधन उद्योग मार्फत उत्पादन, ब्रान्डिङ, प्याकेजिङ्ग, मार्केटिङ्ग को सबै कार्य गर्ने रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए। उनका अनुसार यस वर्ष कम्तीमा ३ सय र बढिमा १ हजार केजी उत्पादन गर्ने लक्ष्य रहेको छ।
पहिला चरणमा ६० जना किसानहरुलाई सहभागी गराइएको छ। आगामी वर्ष वृहत गर्ने लक्ष्य रहेको उनले बताए।

पालिका र किसानहरुले प्रदेश–१ का कृषि सचिव मेघनाथ तिम्सिनासहितको टोलीसँग उत्पादन र गुणस्तरको बारेमा छलफल गरेको छ। आधारभुत तालिमपछि उत्पादन प्रक्रिया सुरु गरिने भएको छ।

पहिला चरणको उत्पादनको ड्रायरका लागि स्थानीय व्यवसायी कुमा अर्यालयको उद्योगलाई प्रयोग गरिने भएको छ। चालु आर्थिक वर्षमा सहकारीको जग्गामा उद्योग स्थापना गर्ने तयारी अघि बढेको स्याङ्बोले जानकारी दिए।

अहिलेसम्म ब्रान्डको नाम तय भएको छैन्। ‘गुन्द्रुक सिन्कीको प्याकेट डिजाइन र ब्राण्ड नाम जुराउन अनौपचारिक छलफल जारी रहेको छ। चाडै निष्कर्षमा पुग्छौ।’ अध्यक्ष स्याङ्बोले भने ‘उत्पादन पश्चात् सहकारी मार्फत सहज संचालन गराउन एउटा कार्यबिधी तयार हुँदैछ। त्यसैगरी विश्लेषण सहित गुन्द्रुकको “ रणनैतिक ब्यापार कार्ययोजना“ तयार हुँदैछ।’

उनले किसानलाई जलवायु अनुकुलन प्रकृतिको खेतीमा प्रोत्साहन गर्ने नीति अनुसार मौलिक रुपमा प्रयोग हुँदै आएको गुन्द्रुक र सिन्कीलाई बजारीकरण गर्ने प्रयास भएको बताए।

स्याङ्बोले उत्पादन पुर्बको अनुदानलाई निरुत्साहित गर्दै जनता र स्थानिय सरकार बिच सहकारीपछि कृषि पशु कार्यक्रम गरिने बताए। किसानको उत्पादन सहकारीले खरिद गर्ने वातावरणको विकास गर्नुका साथै अनिवार्य कृषि ,पशु बीमा लागू गर्ने बताए।

किसानहरुको उत्पादनपछि परिणाममा अनुदान दिने योजना अघि बढाइने बताए । हरेक वर्ष एक÷दुई वटा उत्पादनलाई प्रबर्द्धन गर्ने गाउँपालिकाले लक्ष्य लिएको बताउँदै आयात प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनले आत्मनिर्भर बनाएर निर्यात गर्ने बताए।

चालूू वर्षको नीति कार्यक्रममा गाउँपालिकाले गुन्द्रुक प्रवद्र्धनका लागि ब्रान्डिङ र प्याकेजिङ गर्न ३ लाख, बीउका लागि २ लाख, प्रतिकिलो अनुदानका लागि ३ लाख र गुन्द्रुक उत्पादनमा प्रतिस्पर्धा गरी उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न २ लाख रुपैयाँ विनियोजन गरेको छ।