कृष्ण पौडेल विजयनगर।। आर्थिक अवस्थाका कारण ग्रामीण क्षेत्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन समस्या हुने गरेको छ । गाउँघरमा नै सञ्चालन हुने शिविर उनीहरूका लागि वरदान सावित हुने गरेको छ । विजयनगर गाउँपालिकाको आयोजना र छन्द कालेबावु नारायणी आँखा अस्पताल बाहादुरगंजको प्राविधिक सहयोगमा दुइ दिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । शिविर २ दिनसम्म रहे पनि बिरामी बढेकाले एक दिन थपिएको थियो ।

तिन दिने आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गर्यो । सो शिविरमा १०५१ जनाले आँखाको शल्यक्रिया गराए । उनीहरूले वर्षौँदेखिको समस्या गाउँमै समाधान भएकामा खुसीसमेत व्यक्त गरे । ८० वर्षीय परमेश्वर कुर्मीले आँखामा देखिएको समस्या समाधानका लागि शल्यक्रिया गराए। गाउँमै उपचार पाएपछि उनले भने, ‘धेरै वर्ष भएको थियो आँखामा समस्या देखिएको, आर्थिक अवस्थाका कारण बाहिर गएर उपचार गराउन पनि पाएको थिइन, तर अहिले गाउँमै उपचार पाएर स्पष्ट आँखा देख्ने भएको छु ।’ उनी मात्र होइन सोही शिविरमा स्थानीय ६२ वर्षीय धाकिरा खातुनले पनि शल्यक्रिया गराइन् । उनी पनि वृद्ध उमेरमा आँखा स्पष्ट देख्न पाएकामा खुसी छन् ।

ग्रामीण भेगमा बसोबास गर्ने नागरिक सामान्य आँखा जाँच गर्ने सुविधासमेत नहुँदा वर्षौँदेखि सास्ती खेप्न बाध्य छन् । आँखामा समस्या आए पनि कतिपयले त अन्यत्र अस्पतालमा जान झन्झट र आर्थिक समस्याले रोगसँग लडिरहने गरेको छन्द कालेबावु नारायणी आँखा अस्पताल बाहादुरगंजका प्रसासकिय अधिकृत जसराज विकले बताए। विजयनगर ४ ज्योतिनगरका ८२ वर्षीय खड्क बहादुर छेत्रीको आँखामा समस्या हुँदाहुँदै पनि अस्पताल आउनजान र आर्थिक अभावले समस्यासँग जुँधिरहेका थिए तर शिविर नै गाउँमा आएपछि स्पष्ट आँखा देख्ने भएका छन् । गाउँमा सञ्चालन भएको शिविरले गरिब, विपन्न, अशक्त, बालबालिकालाई ठूलो राहत मिलेको छ ।

गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, विपन्नको बसोबास हुन्छ, उनीहरूलाई स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोग सँग दिनहुँ लडेर बसिरहन बाध्य छन्, यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुगेको छ’, गाउँपालिकाका ग्रामीण भेगमा जनतालाई उपचारको दायरामा ल्याउनको लागि शिविर सुरु गरेका गाउँ पालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए । विपन्न समुदायलाई चेकजाँच गर्न आर्थिक समस्या पर्ने भएकोले गाउँघरमा चिकित्सक बोलाएर शिविर सञ्चालन गरिएको थापाले बताए ।

नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकाको आयोजना र छन्द कालेबावु नारायणी आँखा अस्पताल बाहादुरगंजको प्राविधिक सहयोगमा दुइ दिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो आँखा उपचार शिविर २ दिनसम्म रहे पनि बिरामी बढेकाले एक दिन थपिएको थियो । जसमध्ये १ सय ८४ जनाको आँखामा मोतियाविन्दु भेटिएकाले शल्याक्रिया समेत गरिएको छ । त्यस्तै आँखा जाँचपछि आवश्यक पर्नेलाई चस्मा तथा औषधि पनि बितरण गरिएको थियो । तिन दिने आँखा शिविरमा १०५१ उपचार पाएको स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीले जानकारी दिए ।