चर्को ब्याजदरविरुद्ध कपिलवस्तुमा हस्ताक्षर संकलन
कपिलवस्तु : कपिलवस्तुका उद्योगी व्यवसायी आन्दोलित भएका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पुँजी मार्गदर्शन तथा बैंकहरूको चर्को ब्याजदरविरुद्ध उद्योगी व्यवसायी आन्दोलित भएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघले हालै प्रदेशस्तरीय भेलापछि जारी गरेको आन्दोलनका कार्यक्रमअनुसार शुक्रबार हस्ताक्षर सङ्कलन गरिएको छ। जिल्लामा रहेका क्रियाशील विभिन्न व्यावसायिक संघसंस्थाहरूले माग सुनुवाइ हुनुपर्ने भन्दै शुक्रबार हस्ताक्षर संकलन गरेका हुन्।
राष्ट्र बैंकले जारी गरेको चालू पुँजी मार्गदर्शन तथा बैंक तथा वित्तीय संस्थाहरूको अव्यावहारिक नीतिका कारण उद्योगी व्यवसायीलाई जटिल अवस्थामा पुगेको चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले बताए। आर्थिक अवस्था कमजोर भएको समयमा बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा उद्योगी व्यापारीहरू पलायन हुने अवस्था सिर्जना भएको उनले बताए।
बिहीबारको प्रदेशस्तरीय भेलाले पुस २० गतेसम्म आन्दोलनका कार्यक्रम तय गर्ने र त्यति वेलासम्म पनि संघका माग सम्बोधन नभए २२ गते काठमाडौँकेन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो। हस्ताक्षर संकलन २१ गतेसम्म जारी रहनेछ। संकलित हस्ताक्षर नेपाल उद्योग वाणिज्य महासंघमार्फत नेपाल राष्ट्र बैंकलाई बुझाइनेछ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















