सोन कुमारी थारु, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको बुद्ध साना किसान कृषि सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बुद्ध साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका सा–साना किसानहरुको पुँजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपुर्ण भूमिका खेलिरहेको बताए । उनले वास्तवमा किसानहरु साना नभई सबैभन्दा ठुलो भएको बताउँदै किसान र मजदुरहरुको मेहनत र परिश्रमले नै राज्यका सबै तहहरु सञ्चालन भइरहेको जिकिर गरे ।

उनले भने; ’हामी किसान साना भन्छौँ, मजदुर साना भन्छौँ । कसले भन्यो ? साना सबै भन्दा ठुला भनेकै यो देशमा किसान र मजदुरहरु हुन् उनीहरुको रातदिनको मेहनतले आज ताजा खाने कुराहरु खाईरहेका छौँ ।’ उनले थपे ’राम्रा महलहरुमा बस्न पाइरहेका छौँ । तर अब हाम्रा किसानहरुले कृषिलाई केही आधुनिकीकरण गर्नुपर्यो ।’ अध्यक्ष थापाले अब कृषिलाई परम्परागत भन्दा पनि बैज्ञानिक तबरले अगाडी बढाएर व्यावसायिकरण गर्दै लैजानुपर्नेमा जोड दिए ।
गाउँपालिकाले पनि पहिलो प्राथमिकता कृषिलाई दिएको बताउदैँ युवाले आफ्नै ठाउँमा कृषिमा केही गर्ने सोच बनाएको भए गाउँपालिकाले सहयोग गर्न प्रतिबद्धतासमेत जनाए । सहकारीलाई दिगो र बलियो बनाउनका लागि सबै शेयर सदस्यहरुको सामान जिम्मेवारी रहने बताँदै सहकारीमा आबद्ध भएर खाली बचत गर्ने र ऋण लिने नगरी भविष्यका लागि सोचेर केही नयाँ कामको थालनी गर्नुपर्ने उनको भनाइ छ । सहकारी किसानहरुको खेती जस्तो रहेको हुँदा आफ्नो खेतीको हेरचाह पनि आफैले गर्नुपर्ने भन्दै शेयर सदस्यहरुलाई आफुले गरेको लगानीको बारेमा सदैव चनाखो हुन आग्रहसमेत गरे ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सहकारीको माध्यमबाट आर्थिक आसमानतालाइ हटाई आत्मनिर्भरता हुने बताइन् । आफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र आवश्यकता अनुसार निकाल्न पाइने भएकाले सहकारी हरेक व्यक्तिको लागि आवश्यक र सहज भएको बताइन् । सहकारीले पुरुष र महिला एक ठाउँमा उभ्याउन सफल भएको बताउँदै पैसाको बचत गर्ने बानीको विकास गर्नुपर्ने जिकिर गरिन् । उनले आगामी दिनमा सहाकारीलाई आफुबाट हुने सहयोग र साथ हमेशा रही रहने प्रतिबद्धतासमेत जाहेर गरिन् ।

सहकारीले आर्थिक वर्ष २०७८÷७९ मा कुल २२ लाख १७ हजार ९ सय ५१ रुपैयाँ बराबरको आयव्याय प्रस्तुत गरेको छ । प्रदेश सहकारी संघ लुम्बिनको लेखा संयोजक शिवराज सुवेदीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साना किसान कृषि सहकारी संस्था थर्क बाहादुर खन्गाहालाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ ।
कार्यक्रममा १ नम्बरका वडा अध्यक्ष इन्दर थारु, व्यापार संघ विजयनगर गाउँपालिका अध्यक्ष गोकर्ण सापकोटा, वडा सदस्य आलिया बेगम लगायतको उपस्थिति रहेको थियो भने सहकारीका संचालक समितिका अध्यक्ष बिष्णु थापाको सभापतित्वमा शनिबार सम्पन्न कार्यक्रममा तेजप्रसाद पौडेलको स्वागत मन्तव्य तथ गोमा खण्काको सञ्चालनमा सञ्चालन साधारण सभा सम्पन्नभएको छ ।