काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताउनुभएको छ।

शनिवार ललितपुरको बाँडेगाउँमा पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।

उहाँले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई देशभर बढाउन सरकारले बजेटमा ६५ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज किसुनजीको नाममा किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सुरु भएको कुरा सुन्दा अत्यन्त खुशी लागेको छ । यो अभियानले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन मद्दत पुग्नेछ । सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधारको प्रयास गरिरहेको छ।’

प्रधानमन्त्री देउवाले सन्त नेता भट्टराई जस्ता प्रेरणादायी व्यक्तिहरुसँग काम गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताउनु भयो । साथै, प्रधानमन्त्री देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको शुभारम्भ गर्नुभएकाे छ ।