कप्तान सदिनाको गुनासो : खेलाडी पलायनको चिन्ता छैन, सबैलाई मेडल चाहिएको छ
इलाम : नेपाली राष्ट्रिय बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठले खेलाडी पलायन बारेमा सरोकारवाला निकाय गम्भीर नभएको बताएकी छन्।
नेपाली बास्केटबल टोलीकी सदस्य प्रतीक्षा मगरलाई वैदेशिक रोजगारका लागि बेलायत जानुअघि शुभकामना दिँदै सदिना देशको बास्केटबल अवस्था देखेर दुःख लागेको बताइन्।
सामाजिक सञ्जाल फेसबुकमा प्रतीक्षासँगको तस्विर पोष्ट गर्दै सदिनाले लेखेकी छन्, ‘सबैलाई रिजल्ट चाहिन्छ, मेडल चाहिन्छ उनीहरूलाई पलायन रोक्न जरुरी कहाँ छ र? न त यस बारेमा सरकारलाई मतलब छ न संघलाई नै। त्यसैले म उनलाई बास्केटबल र टोलीमा गरेको योगदानको लागि धन्यवाद दिन चाहन्छु। धन्यवाद ।’
सदिना खेलाडी पलायन बारेका चासो नहुनु दुःखद भएको बताउँछिन्। प्रतीक्षा १३औँ दक्षिण एसियाली खेलकुद (साग) को रजत पदक विजेता टोलीकी सदस्य हुन्। सन् २०१७ मा भारतको कर्नाटकमा भएको फिबा यु–१६ वुमन्स एसियन च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा परेकी उनी त्यसपछि नेपाली टोलीबाट प्रतिनिधित्व गरिरहेकी छन्।प्रतीक्षा गत सेप्टेम्बरमा माल्दिभ्समा भएको साबा वुमन्स च्याम्पियनसिपको उपविजेता टोलीमा समेत थिइन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















