काठमाडौं : सर्वोच्च अदालतको आदेशानुसार केन्द्रीय कारागारको गोलघरमा रहेका कैदी फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज छुट्ने भएका छन्।

सर्वोच्चले हिजो गरेको फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतको पत्र आउन बाँकी रहेको केन्द्रीय कारागारका जेलर इश्वरीप्रसाद पाण्डेले थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार सर्वोच्चको पत्र प्राप्त भए पनि सम्बन्धित जिल्ला अदालतको पत्र आउन बाँकी छ। अदालतबाट पनि आजै पत्र प्राप्त हुने उनको भनाई छ। जिल्ला अदालतको पत्र प्राप्त भएपछि आज साँझ अबेर भए पनि शोभराजलाई थुनामुक्त गरिने जेलर पाण्डेले बताए। कारागारबाट छुटेपछि उनलाई अध्यागमनमा बुझाइनेछ।

आफ्नो मुलुक नफर्किँदासम्म उनी अध्यागमनको नियन्त्रणमा हुनेछन्। शोभराजका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले हिजो १५ दिनभित्र उनलाई आफ्नो देश फर्कने व्यवस्था मिलाउन पनि सरकारको नाममा आदेश दिएको थियो।

शोभराजमाथि २०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र क्यानाडेली नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोग लागेको थियो।