काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन्।

सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन्।

उनले आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने बताए। उनले आफूहरु मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पारे। अध्यक्ष लिङदेनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए।

उनले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गरे।

उनले भने, ‘सरकार निर्माणको प्रक्रिया शुरु भएको छ। राष्ट्रपतिबाट आहह्वान भएको छ। हामी बैठक बसेर आधिकारिक धारणा पनि बनाउँछौँ। कोही पनि हाम्रो साथीहरुले आत्तिनुपर्दैन। नेतृत्वले गल्ती गर्छ कि, फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखिममा जान्छ कि यो चिन्ता लिनुपर्दैन। हामी सोचि, विचारी निर्णय गर्छौ। अहिले न हामीलाई सरकारमा जान हतारो छ। न सरकारमा नजाने भनेर हामीले कसम खाएरै आएका छौँ। के गर्दा उपयुक्त हुन्छ। के गर्दा हाम्रो मान्यताहरु स्थापित हुन सक्छन्। के गर्दा देश र जनताको अवस्थामा परिवर्तन ल्याउन सकिन्छ। त्यो सोचेर, बिचार गरेर हामी निर्णय गर्छौ। हामी मन्त्री खानको लागि कसैको घर धाउँदैनौँ। कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ। हामीले सरकारमा गएर, नगएर पनि अरु कसैलाई समर्थन गर्नुप¥यो भने कारणसहित गर्छौं। कारणसहित जान्छौँ। त्यसमा तपाईहरु सबै ढुक्क रहन आग्रह गर्छु।’

अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा सुरु भएको बताए। उनले आगामी दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने बताए। उनले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणाम बाट आफू सन्तुष्ट नभएको उल्लेख गरे।

पार्टीलाई ठिक ढंगले परिचालन गर्न नसक्दा प्राविधिक रुपमा धेरै मत नआएको भन्दै उनले जनताको मन भने जितेको बताए।

लिङ्देनले राप्रपा सुध्रिएको हो कि होइन भनेर जनताले परीक्षण गर्नका लागि यसपटक यति मत दिएका उल्लेख गरे।

अध्यक्ष लिङदेनले नवनिर्वाचित सांसदहरुलाई विदेशी दुतावासहरुले कार्यक्रमहरुमा बोलाएमा पार्टीको अनुमतिबिना नजान निर्देशन दिए।

दूतावासले बोलाएर रक्सी मासु खुवाउने भन्दै उनले त्यस्तो नगर्न आग्रह गरे। उनले सांसदहरुलाई अनुशासन र मर्यादामा बस्न दिर्नेशन दिए।

उनले पार्टीमा योगदान गरेका र क्षमता र सम्भावना भएका नयाँ व्यक्तिहरुलाई सांसद बनाइएको बताए। पार्टीमा नयाँ मानिसहरुलाई पनि अवसर दिनुपर्ने र फराकिलो दृष्टिकोण राख्नुपर्ने उनको भनाइ छ।