कञ्चनपुर ः बेलडाँडी गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका घरटहरा हटाउने कार्य शुरु गरेको छ। अतिक्रमित जग्गा गाउँपालिकाले डोजर प्रयोग गरी खाली गराउन थालेको हो।

१५ शय्याको अस्पताल निर्माणका लागि सार्वजनिक जग्गाको अतिक्रमण हटाउन थालेको गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले बताए। ‘गत साउन महिनामै ३५ दिने सुचना प्रकाशन गरी अतिक्रमण हटाउन भनेका थियौँ’ उनले भने, ‘त्यसपछि मंसिरमा ७ दिने सूचना जारी गर्‍यौँ। नहटाएपछि डोजर प्रयोग गरी हटाउन थालेका हौँ।’

उनका अनुसार सार्वजनिक अतिक्रमणको चपेटामा परेको एक बिघा १७ कठ्ठा जग्गाको अतिक्रमण हटाउन लागिएको छ। ‘अस्पतालका भौतिक संरचना निर्माणका लागि ठेक्का आह्वान भइसकेको छ’ उनले भने, ‘तत्काल जग्गाको अतिक्रमण हटाउनु पर्ने भएकाले यस कार्यमा लागेका छौँ।’

गाउँपालिकामा ७२ विघा जग्गा ‘ग्रिन बेल्ट’को अतिक्रमणका परेको छ।