काठमाडौं : एकादशी भगवान् विष्णुसँग सम्बन्धित तिथि हो। एकादशीका दिन भगवान् विष्णुको पूजा आराधना गर्ने, माहत्म्य पाठ गर्नाले फल पाइने पुराणहरूमा उल्लेख छ।

सनातन समाजमा वैष्णव सम्प्रदायको प्रभाव फैलिएपछि एकादशीको पनि महत्त्व बढेको बुझिन्छ। वैदिक परम्परामा त अष्टमी, पूर्णिमा र औँसी तिथिलाई महत्त्व दिइएको छ।

एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका वस्तु (केराउ, चना, सिमी आदि) तरकारी नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम पालना गर्छन्।

एकादशी महिनामा दुई पटक आउँछ। शुक्ल पक्षमा एउटा र कृष्ण पक्षमा अर्को। यो हिसाबले वर्षमा २४ वटा एकादशी हुन्छन्। तर अधिक (मल) मास परेको वर्ष दुई एकादशी थपिन्छन्।

मार्गशीर्ष (मंसिर) कृष्ण पक्षको एकादशीलाई पहिलो र कार्तिक शुक्ल एकादशीलाई अन्तिम मानिन्छ।

यी हुन् वर्षभर पर्ने एकादशीका नाम

उत्पत्तिका– मार्ग कृष्ण पक्ष

मोक्षदा– मार्ग शुक्ल पक्ष

सफला– पौष कृष्णपक्ष

पुत्रदा– पौष शुक्ल पक्ष

षट्तिला– माघ कृष्ण पक्ष

जया वा भीमा– माघ शुक्ल पक्ष

विजया– फाल्गुण कृष्ण पक्ष

आमलकी– फाल्गुण शुक्ल पक्ष

पापमोचनी– चैत्र कृष्ण पक्ष

कामदा– चैत्र शुक्ल पक्ष

बरुथिनी– वैशाख कृष्ण पक्ष

मोहिनी– वैशाख शुक्ल पक्ष

अपरा– जेष्ठ कृष्ण पक्ष

निर्जला– जेष्ठ शुक्ल पक्ष

योगिनी– आषाढ कृष्ण पक्ष

हरिशयनी– आषाढ शुक्ल पक्ष

कामिका– श्रावण कृष्णपक्ष

पुत्रदा– श्रावण शुक्ल पक्ष

अजा– भाद्र कृष्ण पक्ष

हरिपरिवर्तिनी– भाद्र शुक्ल पक्ष

इन्दिरा– आश्विन कृष्ण पक्ष

पापाङ्कुशा– आश्विन शुक्ल पक्ष

रमा– कार्तिक कृष्ण पक्ष

हरिबोधिनी– कार्तिक शुक्ल पक्ष

अधिक मासमा

पद्मिनी– शुक्ल पक्ष

परमा– कृष्ण पक्ष