दाङ : दाङमा मोटरसाइकलको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका-७ खैरेनी निवासी केशव डाँगीको ४ वर्षीय छोरा स्मार्ट डाँगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए।

हापुरेबाट तुलसीपुरतर्फ गइरहेको रा ७ प ३१३१ नम्बरको मोटरसाइकलको ठक्करबाट शुक्रबार बेलुका करिब पौने ५ बजेतिर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका-२ निवासी अर्जुन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै दंगीशरण गाउँपालिका-७ प्रसडुवा-५ बाट वैशातर्फ जाँदै गरेको रा ४ प २२८७ नम्बरको मोटरसाइकल गएराति ९ बजेतिर अनियन्त्रित भएर दुर्घटना हुँदा २ जना घाइते भएका छन्।

घाइते हुनेमा मोटरसाइकलमा सवार शान्तिनगर गाउँपालिका-५ की ५० वर्षीया नानीमाया चौधरी र सोही ठाउँका देवबहादुर चौधरीका ५ वर्षीय छोरा सविन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

नानीमायाको अनुहार र टाउकोमा चोट लागेको छ भने सविनको टाउको र शरीरको भित्री भागमा चोट लागेकाले अवस्था सिकिस्त रहेको छ। घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।