दसैं किनमेललाई सीमावर्ती भारतीय बजारमा घुइँचो
लुम्बिनी,— पाल्पाको बर्तुङ घर भएका रमेश खनाल आइतबार बिहानै भारतीय बजार सुनौली आए । बिहान ९ बजे नै सुनौली पुगेका उनले यहाँबाट घरायसी सामान किने । ‘म गाडी लाइनमा हिँड्छु, गाडी यहाँ आएका बेला हरेक महिना एक पटक बजार गरिन्छ,’ उनले भने, ‘हरेक सामान सस्तो पाइन्छ । नेपालमा किन्नै सकिन्न ।’
रूपन्देहीको तिलोत्तमा–४ की नर्मदा शर्माले प्रायः सुनौली बजार गइरहने बताइन् । घरायसी प्रयोजनका सामान खरिद गर्न आफू यहाँ आउने गरेको उनले सुनाइन् । ‘यहाँ ६५ रुपैयाँमा एक किलो चिनी पाइन्छ, हाम्रातिर ८० घटीमा पाइन्न,’ उनले भनिन् । छिमेकका संगीसाथी मिलेर महिनाको दुई पटक सुनौली बजार पुग्ने गरेको उनको भनाइ छ । ‘१० वर्षदेखि यही बजार आइरहेका छौं,’ उनले भनिन्, ‘त्यही कोरोनाले रोकेथ्यो, अहिले चालु भो ।’
सुनौली बजारमा खाद्यान्न मात्र नभई लत्ताकपडा र कस्मेटिक्सका सामानसमेत सस्तो पाइने नेपाली ग्राहकको बुझाइ छ । नेपाली बजारको मूल्य सोधेर मात्र सुनौली धाउने गरेको उनीहरू बताउँछन् । बुटवलको नयाँ बसपार्क एरियाकी सुनिता गुरुङले कस्मेटिक्स सामान र लत्ताकपडा सुनौलीदेखि नै किन्ने गरेकी छन् । ‘कुर्ता–सुरुवाल रोजेर र मिलाएर पाइन्छ,’ उनले भनिन्, ‘कस्मेटिक्स इन्डियन नै राम्रो लाग्छ । फेरि यता सस्तो पनि पर्छ ।’ आफू पार्लर व्यवसायी भएकाले आवश्यकताअनुसार महिनैपिच्छे, महिनाको २/३ पटकसम्म सुनौली आउने काम परिराख्ने उनले जनाइन् । गुरुङले बुटवलमा ५ हजार पर्ने कुर्ता–सुरुवाल यहाँ ३ हजार रुपैयाँसम्ममा पाइने उनको भनाइ छ ।
तीन वर्षमा १ हजारभन्दा बढी नियमित नेपाली ग्राहक बनाएको सुनौलीको सन्जुलज गलीमा सहेनाज कस्मेटिक्स चलाइरहेका सुहेल सेखले बताए । होलसेल कस्मेटिक्सका सामान पाइने पसलमा नेपाली ग्राहक आए मात्र व्यापार हुने गरेको उनको भनाइ छ । ‘कति आउँछन्, याद नै हुँदैन,’ उनले भने, ‘व्यापार ठीकै छ । दैनिक ५०/६० हजार जतिको बिक्छ ।’ सुनौली बजारमा रूपन्देहीबाहेक पाल्पा, गुल्मी, अर्घाखाँचीसम्मका मानिस आउने गरेका छन् । खुला सिमानाले बढाएको तस्करीका कारण नेपाली व्यवसायी धराशायी भएको सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । ‘चिनीको मूल्य हेरेर सम्पूर्ण सामान सुनौलीदेखि ल्याउने प्रवृत्तिले यताको व्यापारमा निराशा छाएको छ,’ उनले भने, ‘हामीले भन्सार कार्यालयलाई पारि गएर सामान किन्ने नेपालीलाई लाइनमा राखी नाम, ठेगाना, फोन नम्बर मात्र सोध्दिनूस् भनेका छौं । लाइन लगाउने हैरानीले मानिस पारि जान छोड्ने पक्का छ ।’
दसैं लक्षित सस्तो बजार
दसैंलाई लक्षित गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले असोज ११ देखि दसैं सस्तो बजार सञ्चालन गर्दै छ । उक्त बजारमा सम्पूर्ण आवश्यक सामग्री पाइने संघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए । नेपाली ग्राहकलाई यहींका सामान सस्तो मूल्यमा पाइन्छ भन्ने चेतना जगाउन तथा सबै सामग्री एकै ठाउँ पाइन्छ भन्ने जानकारी गराउन सस्तो बजार सञ्चालन गरिएको उनको भनाइ छ ।
दसैंमा भारतमा रहेका नेपाली घर आउने क्रम सुरु भइसकेको छ । उनीहरूको सुरक्षालाई दृष्टिगत गरी इलाका प्रहरी कार्यालय बेलहियाले नाकामा यात्रु सहायता डेस्क सञ्चालन गरेको छ । समुदायस्तरको साझेदारी कार्यक्रममा पर्ने यो सुविधा हरेक मानिसले लिन सक्नेछन् । यसअन्तर्गत चोरीको डर हुने भएकाले सुरक्षा दिइने र मानिसले घर जाने क्रममा पाएको समस्या बताउन सघाउने गरी डेस्क राखिएको प्रहरी कार्यालयले जनाएको छ ।
नेपालीलाई पारि जानदेखि रोक्न नेपाली बजारमा पाइने सामग्रीमा केही सस्तो रेट लगाउन रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले व्यापारीलाई आग्रह गरे । नेपाली बजारमा प्रोत्साहन बढाउन सरकारले तोकेको रेटमा धेरै नाफा नखाई ग्राहकलाई उपलब्ध गराउन आवश्यक रहेको उनको भनाइ छ ।
स्वदेशमै किनमेल गर्न अनुरोध
नेपालगन्जको सीमावर्ती रुपैडिहामा दैनिक हजारौं सर्वसाधारण किनमेल गर्न पुगिरहेका छन् । नाकामा घुइँचो छ । रिक्सादेखि ठूला गाडीहरू घरायसी सामान ओसार्न पुग्ने गरेका छन् । धेरै सामान किन्दा सस्तो पर्ने भएकाले यता आउने गरेको दसैंको किनमेल गर्न भारतको रुपैडिहा जाँदै गरेकी नेपालगन्जकी स्मृति थापाले बताइन् । ‘धेरै सामान एउटै बजारमा पाइन्छ । सस्तो पनि पर्छ,’ उनले भनिन्, ‘नेपालगन्जमा यसकै दोब्बर मूल्य पर्छ ।’ किनमेलका लागि सबै ग्राहक भारत जान थालेपछि नेपालगन्ज सुनसान देखिन थालेको छ । दसैंको मुखमा रुपैडिहा किनमेल गर्न जानेको भीड बढिरहेका बेला नेपालगन्जका व्यापारीले शनिबार नाकामा पुगेर नेपाली ग्राहकलाई स्वदेशमा सामान खरिद गर्न आग्रह गरे । ‘स्वदेशमै सामान खरिद गरौं’ भन्ने पर्चा वितरण गरे । चाडबाडको मुखमा आन्दोलनमा उत्रिएका व्यापारीले अवैध आयात रोक्नसमेत माग गरे । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा व्यापारीको टोली जमुनाह नाकामा पुगेर स्वदेशमै खरिद गर्न आग्रह गरे पनि नाका पार गरेर किनमेलका लागि रुपैडिहा पस्ने नेपालीको संख्या घट्न सकेको छैन । बैंकको चर्को ब्याजदर वृद्धि र कारोबारको २०/२५ प्रतिशत मात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको संघले विरोध गरिरहेको छ । संघले शुक्रबार राष्ट्र बैंकअगाडि धर्नासमेत दिएको थियो ।
बैंकहरू मोटाउँदै जाने र व्यापारीहरू सुक्दै जाने अवस्था आएको नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताए । ‘नेपालगन्जमा हेर्नुस् कुनै चहलपहल छैन, चाडपर्वको रौनक छैन । बैंकहरूले ८ प्रतिशतबाट ब्याज बढाएर १६ प्रतिशत बनाए,’ उनले भने, ‘ठूला व्यापारी नै बैंकहरूको सीईओ बन्दा व्यापारी नै चपेटामा परेका छन् ।’ सीमावारि नै बजार बढाउन नाकामा सचेतना अभियान गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । ‘स्वदेशमै किनमेल गरी राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु सबैको जिम्मेवारी हो,’ उनले भने ।




















