उपत्यकाका १० स्थानमा खसीबोकाको स्वास्थ्य परीक्षण गरिँदै
काठमाडौं : पशुसेवा विभागले मंगलबारदेखि काठमाडौं उपत्यकाका विभिन्न १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्दैछ।
दशैँमा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने अस्वस्थकर खसीबोका भित्रिन सक्ने हुनाले विभागले स्वास्थ्य परीक्षण गर्न लागेको विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए।
उनका अनुसार कलंकी, चन्द्रागिरि, टुकुचा, टोखा, चाल्नाखेल, सल्लाघारी, बल्खु, लोकन्थली, नार्गाजुनलगायतका ठाउँमा पशु चिकित्सकको टोलीले खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछन्।
परीक्षणका लागि ५० जना पशु चिकित्सकको टोली खटाइएको छ। खसीबोकाको परीक्षण आजदेखि असोज १८ गते नवमीका दिनसम्म हुनेछ।
स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिंगमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइने सूचना अधिकारी ढकालले बताए।




















