कञ्चनपुर ः शुक्लाफाँटा नगरपालिकामा कार्यरत शिक्षक/कर्मचारी राजनीतिमा संलग्न हुन नपाउने भएका छन्। राजनीतिक दलको सदस्य भएर काम गरेको पाईए नगरपालिकाले शिक्षक/कर्मचारीलाई कारवाही गर्ने भएको छ।

‘सामाजिक सञ्जालमा शिक्षक कर्मचारीले कुनै पनि विषयमा नकारात्मक टीका टिप्पणी तथा स्टेटस सार्वजनिक गरेको पाईए प्रचलित कानुनअनुसार कारवाही हुन्छ‚’ नगरपाालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘राजनीतिक दल तथा भ्रातृ संगठनमा संलग्न भै कार्य गर्दै आएका शिक्षक कर्मचारीलाई तत्काल सदस्यता त्याग्नका लागि निर्देशन दिएका छौं।’

नगरपालिकाको १३१ औं कार्यपालिका बैठकले विद्यालयलाई राजनीतिबाट मुक्त गर्नका लागि सो निर्णय गरेको उनले बताए। विद्यालयमा भयरहित तथा निष्पक्ष तरिकाले पठनपाठनको व्यवस्था मिलाउन शिक्षकलाई राजनीतिबाट टाढा रहन निर्देशन गरिएको अधिकृत भट्टको भनाई छ।

‘शिक्षक राजनीतिक दलको सदस्य भै काम गर्दा विद्यालयको पठनपाठनमा समस्या आउने गरेको थियो‚’ समाजसेवी खगेन्द्रप्रसाद पाण्डेयले भने, ‘नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेर मात्रै हुँदैन, त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयनमा ल्याएको हेर्न चाहन्छौं, यो निर्णय स्वागतयोग्य रहेको छ।’

शिक्षक वीरेन्द्रबिक्रम सिंहले नगरपालिकाको यस निर्णयले शिक्षकको काम गर्ने बानी सुधार भै पेशागत कार्यशैलीमा सुधार हुने बताए।

राजनीतिक दल दर्तासम्बन्धी ऐन २०७३ ले शिक्षक कर्मचारीलाई पार्टीको सदस्यता दिने परिकल्पना गरेको छैन, त्यस विपरीत शिक्षकहरुले राजनीतिक दल तथा भ्रातृ संगठनमा आबद्ध भै राजनीतिक गतिविधिमा संलग्न रहँदै आएका थिए, त्यसविरुद्ध नगरपालिकाले गरेको निर्णय सराहनीय रहेको टिप्पणी स्थानीय बुद्धिजीविको रहेको छ।

स्थानीय बुद्धिजीवि तेजबहादुर शाहले शिक्षक लगायतका कर्मचारीलाई पेशागत ट्रेड युनियनमा आबद्ध रहेर कार्य गर्ने अधिकार रहेको उल्लेख गर्दै राज्यकोषबाट तलब थाप्ने शिक्षक कर्मचारीले राजनीतिमा संलग्न हुने काम वैधानिक नभएको बताए।

‘राजनीतिक दलहरुले शिक्षक कर्मचारीलाई पार्टीको सदस्यता दिने काम नैतिकता र वैधानिकताका आधारमा कदापी ठिक होइन‚’ उनले भने, ‘राजनीतिक दलहरुले शिक्षक कर्मचारीलाई पार्टीको सदस्यता दिन बन्द गर्नुपर्छ, शिक्षक राजनीतिमा संलग्न भए यस कामले राम्रो सन्देश दिँदैन, विद्यालयको पढाईमा समेत यसले असर गर्छ।’