अवैध संरचना बनाउन प्रयुक्त सवारी र सामग्री नियन्त्रणमा लिन्छौं : पोखरा महानगर
पर्वत : कास्कीको पोखरा महानगरपालिका महेन्द्रपुलको सार्वजनिक स्थलमा रहेका आफूमातहतका व्यावसायिक भवनहरू भत्काउँदै ‘एक्सन’ मा उत्रियो। डेंगु प्रकोप नियन्त्रणमा लिन कवाडी सङ्लन गर्ने केन्द्रहरूलाई बस्तीबाट ५ सय मिटर टाढा स्थानान्तरण गर्न ३५ दिने अल्टिमेटम दियो। लगत्तै फेवातालको ६५ मिटर क्षेत्रभित्र कुनै पनि संरचना बनाउन नपाउने गरी स्थलगत रूपमा नै नगर प्रमुखसहितको टोली पुग्यो।
एकपछि अर्को काममा सक्रियतापूर्वक हात हाल्दै स्वतन्त्र उम्मेदवारले काम गर्छन् भन्ने अनुभूति महानगरवासीमा गराएका नगर प्रमुख धनराज आचार्यले आफूले पोखरामा परिवर्तन गरेर देखाउने बताउँदै आएका थिए।
उनले सार्वजनिक जग्गा मिचेर निर्माण गरिने संरचनादेखि अनुमतिबिनै मापदण्ड मिचेर निर्माण गरिने संरचनामा पनि आफूले ध्यान दिने स्थानीय तहको चुनावको वेलामै बताएका थिए।
सोहीअनुसार पोखरा महानगरपालिकाले आइतबार सूचना जारी गर्दै निर्माण व्यवसायीहरूलाई सचेत गराएको छ। महानगरपालिकाभित्र निर्माण हुने कुनै पनि प्रकारका संरचनामा निर्माण सामग्री तथा यातायातका साधन, मेसिन वा उपकरण प्रयोग गर्दा त्यो संरचना वैध हो होइन यकिन गरेर मात्रै प्रयोग गर्न भनिएको छ।
अनधिकृत रूपमा मापदण्डविपरीतका संरचना निर्माणमा सघाउने सवारीसाधन वा अन्य कुनै पनि वस्तु वा सामान कानुनअनुसार नियन्त्रणमा लिइने महानगरपालिकाको सूचनामा उल्लेख छ।
‘पोखरा महानगरपालिकाभित्रका विभिन्न स्थानमा निर्माण व्यवसायीहरूले सेवा प्रदान गर्दा निर्माण हुने संरचना वैध तथा मापदण्डभित्रको हो होइन यकिन गरेर मात्र सेवा प्रदान गर्नु हुन जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ, ‘अन्यथा अनधिकृत रूपमा मापदण्डविपरीतका संरचना निर्माणमा सहभागी भएका र त्यस कार्यमा प्रयोग भएका सवारीसाधन लगायतका सामग्रीहरू कानुनबमोजिम नियन्त्रणमा लिइने बेहोरा जानकारी गराइन्छ।’




















