गुल्मी : गुल्मीमा चितुवासँग भिडन्त हुँदा एक जना युवा घाइते भएका छन् भने चितुवाको मृत्यु भएको छ।

जिल्लाको रेसुंगा नगरपालिका ६ निनीचौरका ३० बर्षीय यमबहादुर कुँवर आइतबार बिहान कुखुराको फर्ममा जाँदा एक्कासी चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवा बीच करिब १० मिनेट लडाइँ भएको भाइ लेखराज कुँवरले जानकारी दिए।

यता डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाका अनुसार अहिले चितुवाको घटनास्थलमा मुचुल्काको काम भइरहेको र मृत चितुवाको व्यवस्थापन कार्य अगाडि बढाउने तयारी भइरहेकाे छ।

घाइते कुँवरको गुल्मी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको गुल्मी अस्पतालले जनाएको छ।

चितुवाले कुखुरा फर्ममा रहेका ६१ वटा कुखुरा मारेको थियाे।