काठमाडौं : नेपालमा आत्महत्याबाट मृत्यु हुनेको संख्या गत आर्थिक वर्षभन्दा ४.३५ प्रतिशतले घटेको छ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक कार्यक्रम गर्दै तथ्याङ्क सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७८।७९ मा ६ हजार ८३० जना व्यक्तिको आत्महत्याबाट मृत्यु भएको छ। तर आर्थिक वर्ष २०७७।७८ मा सात हजार १४१ जनाले आत्महत्या गरेका थिए। यो अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा ४.३५ प्रतिशतल घटेको हो।

आव २०७८।७९ मा आत्महत्याबाट मृत्यु भएका ६ हजार ८३० मध्ये ८३.३९ प्रतिशतले झुण्डिएर आत्महत्या गरेको तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार आत्महत्या गरेका मध्ये ५६ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र चार प्रतिशत किशोर र सात प्रतिशत किशोरी रहेका छन्।

१५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या रहेको चिकित्सकको भनाइ छ। यस्तै नेपालमा विगत १० वर्षको अवधिमा नेपालमा ५३ हजार २९८ जनाले आत्महत्याको कारण आफ्नो ज्यान गुमाएका छन्।

तीमध्ये आर्थिक वर्ष ०६९।०७० मा ३ हजार ९७४ जना, ०७०।०७१ मा ४ हजार ५०४ जना, ०७१।०७२ मा ४ हजार ३३२ जना, ०७२।०७३ मा ४ हजार ६८० जना, ०७३।०७४ मा ५ हजार १२४ जना, ०७४।०७५ मा ५ हजार ३१७ जना, ०७५।०७६ मा ५ हजार ७५४ जना, ०७६।०७७ मा ६ हजार २७९ जना, ०७७।०७८ मा ७ हजार १४१ जना र ०७८।०७९ मा ६ हजार ८३० जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

यस्तै नेपालमा अझै पनि हरेक दिन १९/२० जनाले आत्महत्याका कारण ज्यान गुमाउने पाइएको बताउँछन् स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मानसिक स्वास्थ्य तथा नसर्ने रोग शाखाका प्रमुख डा. फडिन्द्रप्रसाद बराल। ‘अहिले पनि नेपालमा हरेक दिन १९/२० जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको विवरण छ। त्यसैले आत्महत्याबाट हुने मृत्यु कम गर्न सबैजना गम्भीररूपमा लाग्नु पर्छ’‚ उनले भने।

अहिले देशभर मानसिक रोगका ११ प्रकारका औषधि निःशुल्क वितरण गरिरहेको समेत डा. बरालले बताए।

नेपाल सरकारले लिएको दिगो विकासको लक्ष्यमा समेत सन् २०१५ देखि २०३० सम्म प्रति एकलाख जनसङ्ख्यामा आत्महत्याको दर १६.५ बाट घटाई ४.७ मा ल्याउने भनिए पनि हाल आत्महत्याको दर २३.४ प्रति एकलाख रहेको छ।

नेपालस्थित विश्व स्वास्थ्य संगठनका डा केदार मरहठ्ठा मानसिक स्वास्थ्यसम्बन्धी भ्रम तोडेर मानसिक रोगका बारेमा खुलेर कुरा गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

अहिले देशभरका ४४ वटा जिल्लामा सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेको भए पनि यसलाई विस्तार गरेर र देशैभर पुर्‍याउने योजना रहेको छ। जसअन्तर्गत बागमती प्रदेशमा सबै विद्यालयमा काउन्सिलर नर्सका लागि तालिमको काम भइरहेको समेत उनले बताए।

अहिले पनि आत्महत्या रोकथामका लागि हाल हटलाइन सञ्चालनमा छ। आत्महत्याको सोचाइ आएका जो कोहीले पनि ११६६ मा सम्पर्क गरेर सेवा लिन सक्छन्।