दाङ : तुलसीपुरमा शौचालयमा लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ कपडादेवी निवासी ३८ वर्षीया कमला लामिछाने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

छिमेकी दिदी नाता पर्ने सोही ठाउँनिवासी तेजकुमारी लामिछानेको घरमा बुधबार बिहान साढे ६ बजेतिर शौचालय गएकी कमला एक घण्टासम्म नफर्किएपछि ढोका फोडेर हेर्दा घोप्टो अवस्थामा देखेपछि उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो।

अस्पताल ल्याए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। घरमा पतिसँग सामान्य विवाद भएपछि कमला मंगलबार बेलुका ७ बजे छिमेकी दिदी तेजकुमारीको घरमा आएको प्रहरीले बताएको छ।

पोष्टमार्टम रिपोर्टमा नर्मल देखिएपछि लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। पोस्टमार्टमपश्चात परिवारले शव बुझिसकेको प्रहरीले बताएको छ। तर मृत्यु के कारणले भएको हो भनेर थप अनुसन्धानका लागि ‘भिसेरा’ परीक्षण गर्न नेपालगञ्ज पठाएको प्रहरीले जनाएको छ।