अस्पताल भवन अलपत्र पार्ने निर्माण व्यवसायीको तस्विर टाँसेर विरोध
म्याग्दी : बेनी स्थित बेनी अस्पतालको निर्माणाधीन भवन अलपत्र पारेर सम्पर्कविहीन रहेका निर्माण व्यवसायीको तस्वीर र मोबाइल नम्बरसहितको सूचना टाँसेर विरोध प्रदर्शन गरिएको छ।
नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघ म्याग्दीले अस्पतालको भवन अलपत्र पार्ने निर्माण व्यवसायी हराएको सूचना सार्वजनिक स्थानमा टाँसेर विरोध प्रदर्शन गरेका हुन् ।
५० शय्या क्षमतामा स्तरोन्नति सहित निर्माणधीन बेनी अस्पतालको भवन अलपत्र पार्ने निर्माण व्यवसायी कम्पनी र सरोकारवालालाई दबाब दिन निर्माण व्यवसायीको खोजी गर्न दबाबमूलक विरोध प्रदर्शन गरेको अनेरास्ववियु म्याग्दीले जनाएको छ।
आइतबार साँझ अस्पताल भवन परिसरमा अनेरास्ववियु र युवा संघका नेता तथा कार्यकर्ताले भवनको ठेक्का लिएकामहादेव खिम्तीगल्वा रफिना जेभीका सञ्चालक, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रविसिंह श्रेष्ठ हराएको भन्दै तस्विरसहितको सूचना टाँस गरि विरोध जनाए।
निर्माण व्यवसायीको तस्विर टाँस गरेपछि आयोजित कोण सभामा अनेरास्ववियुका गण्डकी प्रदेश समितिका अध्यक्ष प्रकाश पौडेलले अस्पताल भवनको निर्माण तत्काल अघि बढाउन आग्रह गरे। उनले निर्माण कम्पनीलाई काम गरेभन्दा बढी भुक्तानी दिएको सार्वजनिक भएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरे।
तत्कालीन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँग २०७३ पुस २१ मा महादेव खिम्ती, गल्वा रफिना जेभीले १८ करोड ८४ लाख ८ हजार ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। २०७६ मंसिर २० भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ।
निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको करित तीन वर्ष पुग्नलाग्दा बेनी अस्पतालको भवननिर्माण योजनाका काम करिब ५० प्रतिशत मात्रै सकिएको छ । निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरबाहीको कारण बेनी अस्पतालको निर्माणाधीन भवन ढिलासुस्तीको नमुना बनेको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















