माधव बेल्वासे
चन्द्रौटा,१९ भदौ
तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा चुनावी चर्चा सुरु भएको छ । मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनको लागि दलहरू आन्तरिक तयारीमा जुटेका छन् । केन्द्रीय निर्देशन अनुसार दलहरूले उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् । आकाङ्क्षी धेरै भए पनि उम्मेदवार छनोटमा समस्या भएकोले नाम सिफारिस गर्न थालेका छन् ।

गठबन्धन भित्र रहेका दलहरूले आ आफ्ना उम्मेदवारको नाम सिफारिस गरेका छन् भने प्रतिपक्ष दल एमाले लगायतका पार्टीहरूले पनि आकाङ्क्षीहरूले उम्मेदवारी रहने बताउँदै आएका छन् । कपिलवस्तुमा तीन सङ्घीय क्षेत्र र ६ प्रदेश क्षेत्र रहेका छन् । विगतलाई हेर्दा क्षेत्र न १ नेकपा माओवादी केन्द्र ,क्षेत्र न २ एमाले र क्षेत्र न ३ काँग्रेसले जित हासिल गरेका हुन् ।गठबन्धनले कपिलवस्तुका दुई वटा क्षेत्रमा काँग्रेस र एउटामा माओवादीले दाबी गर्ने तयारी गरिरहेका छन् ।

जिल्लामा गठबन्धन वाट क्षेत्र न १ मा नेकपा माओवादीका सचिव चक्रपाणि खनाल,क्षेत्र न २ वाट नेपाली काँग्रेसका प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य र क्षेत्र न ३ वाट नेपाली काँग्रेसका अभिषेक प्रताप शाहलाई उम्मेदवार बनाउने योजना रहेको छ । प्रदेशको विषयमा भने दलहरू छलफलमा रहेका छन् ।एकीकृत समाजवादी,जसपामा लगायतका दलहरूलाई पनि प्रदेशमा समेटेर गठबन्धन बलियो बनाउने योजना छ ।

यता नेकपा एमालेले क्षेत्र न १ मा बलराम अधिकारी , विश्राम थारु,पूर्व मन्त्री दान बहादुर चौधरी र सूर्य कुमारी साहीको नाम सिफारिस गरेको छ । क्षेत्र न १ को (क)मा गिरिधारीलाल न्यौपाने ,विष्णु पन्थी ,डम्मर शर्मा , प्रताप गिरी र सिता न्यौपानेको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । क्षेत्र न २ मा भने वृजेश कुमार गुप्ताको नाम सिफारिस हुने बताइएको छ । क्षेत्र न ३ मा टोपलाल पोख्रेल र मंगल गुप्ताको नाम सिफारिस गरेको छ । क्षेत्र न ३ (क) प्रदेश सभा सदस्यतर्फ एकल रूपमा अर्जुन कुमार केसीको एकल नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसले क्षेत्र न ३(क)मा जमसेद अलि मिया,ख मा वीरेन्द्र कनोडियाको नाम सिफारिस भएको छ ।

क्षेत्र न ३ मा एकीकृत समाजवादी मन्जुर खाको नाम सिफारिस गरेको छ । त्यस्तै क्षेत्र ३ (क)मा जीवलाल पौडेल र ओम प्रकाश कुर्मीलाई सिफारिस गरेको छ । क्षेत्र न ३(ख)मा रामराज चौधरीको नाम सिफारिस गरेको छ ।
जनता समाजवादी पार्टीले क्षेत्र न ३ मा अशोक यादव,क्षेत्र ३(क)मा जगदम्बा चौधरी,सतिष गुप्ता,मेनाज खान,प्रमिला चौधरीको नाम सिफारिस गरेको छ भने (ख) वाट शिवपुजन यादव,अब्दुल नवाब खान र अस्लम खानको नाम सिफारिस गरेको छ । लोसपा वाट क्षेत्र न ३ मा रविदत्त मिश्रको नाम सिफारिस गरेको छ ।