कृष्ण पौडेल विजयनगर ।।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ६का वडाध्यक्षले घरघरमा पुगेर वृद्धभत्ता वितरण गरेका छन् । वडा कार्यालयसम्म आउन नसक्ने असहाय, अशक्त तथा अपाङ्गहरुको घरघरमा वडाध्यक्ष प्रेमबहादुर कलवार आफै पुगेर वृद्धभत्ता वितरण गरेका छन् ।
स्थानीय तहमा निर्वाचनमा पुन चयन भएर आएपछि नागरिकलाई सहज सेवा दिन केही सकारात्मक प्रयास हुन थालेका छ ।शुक्रबार वडाभित्रका १३जना असहाय, अशक्त तथा अपाङ्गहरुको घरघरमा पुगेर वृद्धभत्ता वितरण गरेको वडाध्यक्ष कलवारले बताए ।

 

आफूले पाउने सामाजिक सुरक्षा भत्ता लिन सात वर्षदेखि सधैं बैंकमा धाउने गरेकि विजयनगर गाउँपालिका वडा नं. ६ मा बस्ने छुट्टपाटि कि यसोधा गडरियाले यसपटक घरमै पाइन् । उनि भन्छिन् म बैंकमा जादा धेरै नै दुख हुने गर्थ्यो यस पालि वडा कार्यालयले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता घर घरमै बाडे पछि उनी खुसीले गद्गद छिन् ।

खजाहनिका वशंराजी अहिरले पनि सोचेकै थिएनन् कि घरमै सामाजिक भत्ता आइपुग्ला भनेर । विगतमा लामो लाइन लागेर भत्ता बुझ्ने गरेका उनी घरमै सामाजिक सुरक्षा भत्ता पाएपछि दंग छन् ।

शारिरीक रुपमा अशक्त भएकालाई वडाले विशेष चासो दिएको बताउँदै वडाध्यक्ष कलवारले उनीहरुको सहजताका लागी उपयुक्त वातावरण सिर्जन गर्ने प्रतिवद्धता जनाए ।
उनीहरुको सहजताका लागी वडाले आगामी दिनमा थप योजनासहित अघि बढ्ने लक्ष्य लिएको वडाध्यक्ष कलवारको भनाई छ । ‘म जनताको लागी वडाध्यक्ष भएको हुँ, असहाय, अशक्त तथा अपाङ्गहरुको यो अवस्थालाई बुझेर नै घरघरमा राज्यले दिएको भत्ता दिन आए ।’ उनले भने, ‘आगामी दिनमा पनि थप योजनासहित अघि बढ्छु ।’आम नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउने गरि आफु काममा लागी परेको कलवारले बताए ।

वडा कार्यालयले अशक्त र बैंकसम्म जान नसक्ने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता घरघरमा पुगेर दिने व्यवस्था मिलाएको हो । घरमै भत्ता पाउन थालेपछि स्थानीय खुसी भएका छन् ।