हप्ता दिन नबित्दै मन्दिर भत्कियो
कल्याणपुर- सप्तरीको दुई पालिकामा बनाइएको हप्ता दिन नबित्दै मन्दिर भत्किएको छ । खडक नगरपालिका र तिरहुत गाउँपालिकामा दश–दश लाख रुपियाँ लागतमा एकै डिजाइनमा बनेको मन्दिर भत्किएको छ ।
तिरहुत गाउँपालिका २ स्थित बडहरामा १० लाख रुपियाँको लागतमा निर्माण भएको बजरङ्गवलीको मन्दिर एक साता नबित्दै ढलेको छ । कमिसनको चक्करमा गुणस्तरहीन काम भएपछि निर्माण भएको मन्दिर ढलान भएको सात दिनमै भत्किएको हो ।
आर्थिक बर्ष २०७८–७९ मा बडहरामा रहेको अधुरो बजरङ्गबली मन्दिर निर्माण कार्यका लागि गाउँपालिकाले १० लाख रुपियाँ बजेट बिनियोजन गरेको थियो । योजना निर्माण उपभोक्ता समितिका सचिब बिशो यादवका अनुसार गाउँपालिकाको प्राविधिकले मन्दिर निर्माणका लागि तीन स्टेपको डिजाइन बनाएर दिएको हो ।
सोही बमोजिम असार २९ गते मन्दिरको तेस्रो स्टेपको छत ढलान भएको थियो । छत ढलानको लागि जुन सेटरिङ्ग लगाएको थियो, सो सेटरिङ्गबालाले सेटरिङ्ग खोलेको कारण मन्दिरको छत भत्केका उहाँले बताउनु भएको हो ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंहले मन्दिर निर्माण कार्यमा के कस्तो गुणस्तर सामान प्रयोग भएको हो, सोबारे प्राविधिक ईन्जिनियर दिनेश माझिलाई जानकारी हुनुपर्ने जनाउनु भयो । मन्दिर भत्केको जानकारी पाएलगतै बैंकसँग सम्पर्क गरेर सबै भुक्तानी रोक्का गरिसकेको उहाँको बताउनु भयो ।
त्यस्तै, खडक नगरपालिका १ मा १० लाख लागतमा सोही डिजाईनमा बनाइएको शशिया महाराजको मन्दिर बनाएको एक साता नबित्दै भत्किएको हो । सब इन्जिनियर विश्व प्रकाश झाको डिजाइन र स्टिमेटमा बनाइको मन्दिरमा कमसल सामान प्रयोग गरिएको स्थानीय देवकान्त चौधरीले जानकारी दिए । उहाँका अनुसार कमिसनको चक्करमा गुणस्तरहीन काम भएपछि निर्माण भएको मन्दिर ढलान भएको दुई चार दिनमै भत्किएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























