रुपन्देही ७ फागुन । रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ । विहिबार विहान विद्यालय जान घरबाट निस्केका उनीहरुलाई आफन्तले नै अपहरण गरेको प्रहरीले जनाएको छ ।विहान ९ बजे देखि सम्पर्क विहिन भएका सैनामैना नगरपालिका–६ बस्ने पुष्पा दाहालकी छोरी र छोरालाई शुक्रवार दिउँसो २ बजे झापाको विर्तामोडबाट उद्धार गरिएको हो ।

घटनामा संलग्न अभियुक्त खिम बहादुर पौडेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ७ वर्षिय प्रसिद्ध दाहाल र ९ वर्षिय प्रशन्न दाहाल हाल प्रहरीको संरक्षणमा रहेको र अभियुक्त पौडेल पनि प्रहरीको नियन्त्रणमा रहेका छन् । उनीहरुलाई रुपन्देही ल्याउँदै गरेको प्रहरीले जनाएको छ । सैनामैना–४, मुर्गियामा रहेको प्रभात आवसीय बोर्डिङ स्कुलमा अध्ययनरत उनीहरु विद्यालयका गएको अवस्थामा आफ्नै फूपाजु पर्ने पौडेलले फोटो खिच्ने बहानामा अपहरण गरेका थिए ।

छोराछोरी सम्पर्क विहिन भएपछि परिवारले ईलाका प्रहरी कार्यालय रन्यौरामा खबर गरेका थिए । सैनामैना–५ घमाहा खोला बस्ने खिम बहादुरसँग पारिवारिक विवाद भएका कारण उसले नै अपहरण गरेको भन्दै किटानी जाहेरीसहित परिवारले प्रहरीमा खबर गरेका थिए ।