निरन्तर चलिरहने जीन्दगीको यात्रा
हेर्दै जांदा अचम्मको संसारको जात्रा

सबै मान्छे सधै खुसी भएपनि हुने
कोही बाँच्ने बिलासमा कोही भने रुने ।

म पनि त यै भिडको एउटा यात्री परे
ढकमक्क फूले कैले¸कैले भने झरे।

मेरापनि गहभरी रसाउंछन् आंशु
बेदनाको पोको बोकी खै कसरी हांसु ।

बोलेकै छु¸हिंडेकै छु बाँच्नुपर्ने रै छ
आफ्ना कथा मनभित्र सांच्नुपर्ने रै छ ।

हाम्रो आफ्नो सुन्दर थ्यो जीवनको कथा
टुटीगयो मालासरी थपी गयो व्यथा ।

बित्न लाग्यो पैलो वर्ष छोडी गए प्यारा
उनै विना शुन्य लाग्ने गांउघर सारा।

यात्राबाट छुटीगए ढुकुरका जोडी
शुन्य पारी संसार यो मलाई एक्लै छोडी ।

अपूरो भो यात्रा हाम्रो बिसौनी भो टाढा
छोडी जाने निष्ठुरीको याद मात्रै गाढा ।

घरका भित्ता भरिभराउ उनकै सम्झनाले
फर्कि आए हुन्थ्यो भन्छ मनको कल्पनाले ।

भनुं कसलाइ वह रुंदा आंशु सुक्यो
कथा¸आफ्नो जीन्दगीको आफ्नै मन दुख्यो ।

अझैकति छट्पटिदै बस्नुपर्ने होला
स्वर्गबाट हेर्दापनि उनको मन रोला ।

कहां छोडी गयो बरै बगैंचाको माली
रित्तो पारी गयो मेरो सौभाग्यको थाली ।

फर्किएर किन आंउथ्यो बगिजाने खोला
आखिर सबले फर्नुपर्ने जीवनको चोला ।

मेरा निम्ति तिम्रा याद बांच्छन् सधैभरी
अपूरो भो यात्रा हाम्रो बांच्नु कसोगरी ।

दैलामाथी तिम्रो फोटो हेर्छु घरीघरी
अपूरो भो यात्रा हाम्रो बांच्नु कसोगरी ।

शिवराज,कपिलवस्तु भगवती पौडेल ।