कपिलवस्तु – शिवराज नगरपालिकाअन्तर्गत चन्द्रौटामा सञ्चालनमा रहेको आधारभूत स्वास्थ्य सेवा अस्पतालमा गम्भीर प्रकृतिको आर्थिक हिनामिनाको आशंका गरिएको छ। नगर प्रमुख अजय थापाले वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्र लेख्दै उक्त प्रकरणमा तत्काल अनुसन्धान गर्न माग गरेका छन्।

आर्थिक वर्ष २०८१/०८२ को आर्थिक कारोबार तथा हरहिसाव नियमन गर्ने क्रममा अस्पतालको विवरण अपूर्ण र शंकास्पद देखिएपछि विस्तृत जाँचबुझ गरिएको थियो। सो क्रममा अस्पतालले बैंकमा रकम जम्मा गरेको भनी पेश गरेका भौचरहरू र वास्तविक मौज्दातबीच ठूलो अन्तर फेला परेको जनाइएको छ।

नगरपालिकाले सम्बन्धित बैंकसँग समन्वय गरी भौचरको आधिकारिकता बुझ्दा, ती भौचरहरू नक्कली (फर्जी) रहेको र सो बराबरको रकम बैंक खातामा दाखिला नभएको मौखिक जानकारी प्राप्त भएको बताइएको छ। तर, अस्पताल प्रशासनले भने उक्त रकम बैंकमा बुझाई बैंकबाटै भौचर प्राप्त गरेको दाबी गर्दै आएको छ।

बैंक र अस्पताल प्रशासनको भनाइ एकअर्कासँग बाझिएकोले दुवै पक्षको भूमिका शंकास्पद देखिएको नगर प्रमुख थापाले उल्लेख गरेका छन्। उनले सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कानुनी कारबाही अघि बढाउन प्रहरीलाई अनुरोध गरेका छन्।

यस घटनाले स्थानीय स्तरमा चासो र चिन्ता बढाएको छ भने सम्बन्धित निकायबाट निष्पक्ष अनुसन्धानको माग समेत उठ्न थालेको छ।