बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसहित विघटित संसदका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय लिएको हो।
स्पष्टीकरण सोधिएका ११ सांसदहरुमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कलिला खातुन, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी र निरा जैरू रहेका छन्।
एमालेका यी सात सांसद : जसले देउवालाई साथ दिन अस्वीकार गरे
एमालेले नेपाल पक्षीय नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्टसहितलाई भने स्पष्टीकरण सोधेको छैन। उनीहरुसहित सात सांसदले हिजो नै प्रधानमन्त्रीका लागि शेरबहादुर देउवालाई अघि सार्ने माधव नेपालको प्रस्तावमा असहमति जनाएका थिए।
नेपाल पक्षले देउवाको पक्षमा २७ जना सांसदले हस्ताक्षर गरेको जनाएको थियो। जसमा सातजनाले हिजै आफूहरुको साथ देउवालाई नहुने भन्दै आपत्ति जनाएका थिए।
नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा, गणेश पहाडी र जयकुमार राईले हिजै आफूहरुको हस्ताक्षर दुरुपयोग भएको बताएका थिए। त्यस्तै देउवालाई प्रधानमन्त्री बनाउने कुरामा आफ्नो साथ नहुने भन्दै नेता योगेश भट्टराईले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।