काठमाडौं : नेप्सेले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ जारी गरेको करिब ५ महिना बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । नेप्सेले २०७७ पुस १ गतेदेखि नै लागू हुने गरेर भनेर तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि सञ्चालनमा ल्याएको हो । तथापि, त्यही बेला नेपाल धितोपत्र बोर्डले आफ्नो स्वीकृतिबिनै नेप्सेले कार्यविधि ल्याएको भन्दै अनुमतिका लागि बोर्डमा आवेदन दिन निर्देशन दियो । बोर्डको उक्त निर्देशनसँगै नेप्सेले कार्यविधि स्वीकृतिको लागि बोर्डमा पठायो ।
तर, उक्त कार्यविधि पूर्ण नभएकाले संशोधन गर्नुपर्ने भन्दै बोर्डले नेप्सेलाई कार्यविधि संशोधनका लागि पुनः निर्देशन दिएको धितोपत्र बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले बताएका छन् । उनले भने, ‘नेप्सेले जारी गरेको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लाई संशोधन गरेर कार्यान्वयनमा ल्याउन निर्देशन दिएका छौं । अब यो छिट्टै कार्यान्वयनमा आउँछ ।’
यता, नेप्सेले भने आफूहरुले जारी गरेको कार्याविधिमा धितोपत्र बोर्डले सीधै हस्तक्षेप गरेर संशोधन गर्न लगाएको आरोप लगाएको छ । नेप्से स्रोतले भन्यो, ‘नेप्सेले आवश्यक अध्ययन गरेर लागू गरेको कार्यविधि बोर्डले हस्तक्षेप गरेर स्वीकृति लिनुपर्ने भन्दै रोकेको छ । यसमा बोर्डबाट स्वीकृत लिनुपर्ने कुनै आवश्यकता नै थिएन ।’
नेप्सेले कार्यविधि लागू गरेसँगै आवश्यकता अनुसार इन्भेष्टमेन्ट कम्पनी, विश्लेषक, सञ्चार माध्यमका साथै गैरव्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक संस्थाहरुले नेप्सेको आवश्यक तथ्यांक पाउछन् । त्यसका लागि नेप्सेलाई प्रतिमहिना तोकिएको शुल्क तिर्नुपर्नेछ । संघसंस्था र सञ्चार माध्यम वा अन्यको प्रयोजन अनुसार बेग्लाबेग्लै शुल्क निर्धारण हुने नेप्सेको भनाई छ ।
नेप्सेले तयार पारेको कार्यविधिमा तथ्यांक प्रयोग गर्नका लागि प्रयोगकर्ताले प्रयोगको स्पष्ट उद्देश्य खुलाई नेप्सेमा आवेदन दिनुपर्छ । यता, एपीआई प्रयोगकर्ताको हकमा भने सूचना प्रविधि पूर्वाधार र एपीआई प्रयोगका लागि सुरक्षित रहे नरहेको जाँच गर्नुपर्नेछ । यदि प्रयोगकर्ताले अनाधिकृत रुपमा तथ्यांक प्रयोग गरेको पाइएमा नेप्सेले तथ्यांक रोक्न सक्ने पनि कार्यविधिमा उल्लेख छ ।
नेप्सेले बनाएको कार्यविधिमा सामान्य विषयवस्तु मात्रै संशोधन हुने बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले बताए ।नेप्सेले ५ महिनाअघि उक्त कार्यविधि लागू गरेको सूचना निकालेसँगै तथ्यांक प्रयोगका लागि विभिन्न संघसंस्थाले अवेदन दिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।
उनले भने, ‘नेप्सेले पुष १ गतेबाट उक्त कार्यविधि लागू हुने विभिन्न संघसस्थाले तथ्यांकको लागि आवेदन दिएका थिए । तर, बोर्डमा स्वीकृतिका लागि पठाउनुपरेकाले आवेदनलाई स्वीकृत दिने प्रक्रिया अहिलेलाई रोकिएको छ ।’ एपीआई प्रयोग र शुल्क सम्बन्धमा अहिलेसम्म स्पष्ट नीतिगत र कानुनी आधार नहुँदा समस्या भइरहेको छ । यसलाई समाधान गर्न नेप्सेले कार्यविधि ल्याएर कार्यान्वयन गर्न खोजेको हो ।